Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


पहिरोले खोला थुनेपछि बनेको तुरतुरे तालमा नौकाविहार


0
Shares

रामबहादुर थापा 

बागलुङ, मंसिर १६ । पहिरोले बडिगाड खोला थुनेपछि बनेको तुरतुरे तालमा नौकाविहार सञ्चालनमा ल्याइएको छ । ताल घुम्ने पर्यटकलाई लक्षित गरी व्यावसायिकरूपमा नौकाविहार शुरु गरिएको हो ।

ताल प्रभावित क्षेत्रका बासिन्दाले ताललाई आयआर्जनसँग जोड्न यस्तो जुक्ति निकालेका हुन् । 

स्थानीयबासीले ‘तुरतुरे ताल डुङ्गा सञ्चालन समिति’ समेत बनाएका छन् । तत्काललाई भाडाको डुङ्गा सञ्चालन गरिएको समितिका अध्यक्ष दिलबहादुर कुमालले बताए ।

दुईवटा डुङ्गा सञ्चालन गर्ने योजना समितिको छ । ढोरपाटन नगरपालिकाले समितिलाई डुङ्गा किनिदिने प्रतिबद्धता जनाएको छ । नगरपालिकासँगको छलफलपछि समिति डुङ्गा चलाउने निर्णयमा पुगेको हो । ‘नगरपालिकाले डुङ्गा उपलब्ध गराउने भएको छ,’ अध्यक्ष कुमालले भने, ‘आम्दानी डुबान प्रभावितको जीविकोपार्जनमा खर्च गर्छौं ।’ 

पुरै ताल घुमेको प्रतिव्यक्ति पाँच सय रुपैयाँ, आधा घुमेको दुई सय पचास र विद्यार्थीलाई आधा छुट दिइएको उनले जानकारी दिए ।

नगर प्रमुख देवकुमार नेपालीले विपद् व्यावसायिक नौकाविहारको अवसर बनेर आएको बताए । ‘ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्छ,’ उनले भने, ‘स्थानीयबासीलाई सघाउन नगरपालिका तयार छ ।’ नगरपालिकाले ताल क्षेत्रमा रेष्टुरेन्ट, पसल र अन्य आयमुलक व्यवसाय चलाउन सहुलियतमा ऋण दिइने जनाएको छ ।

‘यहाँ आउने पर्यटकको सुविधाका लागि पूर्वाधारको खाँचो छ,’ नगर प्रमुख नेपालीले भने, ‘तपाईंहरू घरबास (होमस्टे) योजना ल्याउनुस्, रेष्टुरेन्ट खोल्नुस् हामी सहयोग गर्छौं ।’ 

उनले तालमा माछापालन गर्न समेत स्थानीयबासीलाई सुझाए । जग्गा डुबानमा परेपनि तालबाट झन् ठूलो आम्दानी लिन सकिने उनको भनाइ थियो ।

नगरपालिका–२ सिमलचौर र खप्तरीबाङका ४८ परिवार तालबाट प्रत्यक्ष प्रभावित छन् । दुई घर, पाँच गोठसहित करीब सय रोपनी भन्दा बढी खेतीयोग्य जग्गा डुबानमा परेको छ । 

डुबानबाट क्षतिग्रस्त रामबहादुर कुमाल र शेरबहादुर कुमालको घर पनि नगर प्रमुख नेपालीले बनाइदिने घोषणा गरेका छन् ।

व्यावसायिक चालक गोपाल राना र नवीन थापाले स्थानीय युवालाई डुङ्गा चलाउन सिकाइरहेका छन् । स्थानीयरूपमा दक्ष चालक तयार भएपछि डुङ्गा सञ्चालन सहज र व्यवस्थित हुनेछ ।

गत भदौ ३० गते नगरपालिका र बडिगाड गाउँपालिकाको सीमामा गएको भीषण पहिरोले खोला थुनिँदा ताल बनेको हो । खोला नै थुन्ने गरी गएको पहिरो र ताल हेर्न शुरु देखि नै अवलोकनकर्ता आकर्षित बनेका थिए । 

हिउँदको सफा मौसममा तालको सौन्दर्य खुलेपछि तुरतुरे घुम्न जानेको सङ्ख्या बढ्दै गएको हो । एक वर्ग किलोमिटरभन्दा बढी क्षेत्रमा फैलिएको ताल अहिले प्राकृतिक झैँ देखिन थालेको छ । तत्काल ताल फुटाउँदा जोखिम निम्तिने खतरा भएपछि उही स्वरूपमा राखिएको हो । स्थानीय तह र गाउँलेले ताल सधैँलाई जोगाउने योजना बनाएका छन् । 

स्थानीयबासी अनबहादुर थापाले सकेसम्म ताल संरक्षण गरिनुपर्ने धारणा राखे । ‘ताल जोगाउन सरकारले पनि पहल गर्नुपर्छ,’ उनले भने, ‘प्राविधिकरूपमा यसको अध्ययन हुन आवश्यक छ ।’

हिउँदमा कुनै समस्या नभएपनि वर्षामा ताल के हुने हो भन्ने आशङ्का छ । केही वर्ष ताल जोगिए पनि पछि पुरिने सम्भावना कतिपयले औँल्याएका छन् ।

ताल मध्यपहाडी पुष्पलाल लोकमार्गकै छेउमा रहेकोे हुँदा पर्यटकलाई आवतजावत गर्न पनि सहज छ । तुरतुरे ताल सदरमुकाम बागलुङ बजारदेखि ९० किलोमिटरको दुरीमा छ । बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिँह पाइजाले जोखिम नहुने अवस्थामा मात्र ताल जोगाइने बताए ।

गत असोजमा नेपाली सेनाको प्राविधिक टोलीले तत्काललाई जोखिम टरेको भन्दै ताल नफुटाइ फर्केको थियो । ‘ताल फुटाउनै परेपनि सुख्खा याममा फुटाउने प्राविधिक टोलीको सुझाव छ,’ अध्यक्ष पाइजाले भने, ‘भरसक ताल संरक्षण गर्ने प्रयासमा हामी छौँ ।’ 

ताल जोगाउन सके यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ । तर, वर्षामा आउने बाढीले ताल फुटाउने हो कि भन्ने त्रास तल्लो तटीय क्षेत्रका बासिन्दामा छ । गएको वर्षामा खोला थुनिँदा छिमेकी जिल्ला गुल्मी सम्मका दर्जनौँ बस्ती जोखिममा परेका थिए । (रासस)