ध्रुव भट्टराई/ईमेज:
विराटनगर । विराटनगर महानगरपालिकाले निर्माण गर्न लागेको भ्यूटावर विवादमा तानिएको छ ।
भ्यूटावरले बिराटनगर बिमानस्थलको एयर ट्राफिकलाई अवरोध गर्ने देखिएपछि विवादमा तानिएको हो ।
विमानस्थल वरपर ४५ मिटर अग्लो संरचना बनाउन नपाइने नियम भए पनि महानगरपालिकाले बेवास्ता गर्दै भ्यूटावर निर्माणको काम अघि बढाएकोे नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
सामान्यतया विमानस्थलको वरपर अग्ला अग्ला संरचना बनाउनु हुँदैन तर विराटनगर महानगरपालिकाले विमानस्थलबाट १ किलोमिटर भित्रै ४ अर्बको लगानीमा १ सय १० मिटर अग्लो भ्यूटावर बनाउने तयारी अघि बढाएको छ ।
अर्कोतिर विराटनगरस्थित नागरिक उड्डययन प्राधिकरणले भ्यू टावर विमानस्थलदेखि एक किलोमिटर भित्रै पर्ने र यसले एयर ट्राफिकिङलाई असर पार्ने बताएपछि यो विषय विवादमा परेको छ ।
प्राधिकरणका प्रमुख टेकनाथ सिटौलाले महानगरले अघि सरेको भ्यू टावर निर्माण क्षेत्र विमानस्थलबाट उत्तरपूर्वी भागमा पर्ने भएकाले जहाज उडाउन र अवतरण गराउन समस्या हुने दाबी गर्छन् ।
प्राविधिकहरुका अनुसार ठूला जहाजले ४ देखि ५ नटिकल माइलमा धावन मार्गतर्फ अवतरणको दिशा लिने भएकोले त्यस क्षेत्रमा अग्ला संरचना बनाउन हुँदैन ।
प्राधिकरणले निर्माणाधीन भ्यूटावरको काम तत्काल रोक्न आग्रह गर्दै महानगरपालिकालाई पत्राचार गरे पनि जवाफ नआएको बताउँछ ।
अन्तरदेशीय उडान भर्ने गरी बनाइएको विमानस्थललाई विस्तार गर्ने गुरुयोजना रहेको हुँदा भ्यूटावरले त्यसलाई असर पार्ने प्राधिकरणले बताउँदै आएको छ ।
यता विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली भने भ्युटावर निर्माणको डिपीआरको तयारी भएकोले प्राधिकरणसँग समन्वय गरिने बताउँछन् ।
साथै प्राविधिकहरुले भ्युटावर निर्माण हुँदा उडान र अवतरण प्रभावित नगर्ने दाबी गरेको पनि उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्