काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीको अग्रंता कायमै छ । गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले बर्नमाउथलाई ३–१ ले हरायो ।
खेलमा म्यान सिटीलाई विजयी गराउन बर्नार्डो सिल्भा, राहिम स्टर्लिङ र ईके गुन्डोगानले एक एक गोल गरे । बर्नमाउथका क्यालम विल्सनले एक गोल फर्काए ।
गएराति भएको अर्को खेलमा म्यान्चेस्टर युनाईटेडलाई भने साउथह्याम्पटनले २–२ गोलको बराबरीमा रोकेको छ ।
खेलको सुरुमा घरेलु टोली साउथह्याम्पटनले लगातार दुई गोल गरे पनि पहिलो हाफमै म्यान्चेस्टर युनाईटेडले दुई गोल फर्काउन सफल भयो ।
प्रिमियर लिगकै अन्य खेलमा वेष्ट ह्याम युनाईटेडले न्युकासल युनाईटेडलाई ३–० ले हराउँदा क्रिष्टल प्यालेसले बर्न्लेलाई २–० ले, ब्राईटनले हडर्सफिल्ड टाउनलाई २–१ ले तथा लेष्टर सिटीले वाट्फोर्डलाई २–० ले हराएका छन् ।
गएरातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा १४ खेलबाट ३८ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा कायमै छ ।
एक खेल कम खेलेको लिभरपुल ३३ अंकसहित दोस्रो स्थानमा रहँदा ३० अंक जोडेको टोटनह्याम हट्सपर तेस्रो स्थानमा छ ।








प्रतिक्रिया दिनुहोस्