२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


मुलुकमा वित्तीय स्थायित्व ल्याउँछौं : नवनियुक्त अर्थमन्त्री खतिवडा


0
Shares

मन्त्रालयमा सोमबार पदबहालीपछि आयोजित समारोहमा उनले भने–‘संविधानको मर्म र भावनाअनुसार मुलुकको आर्थिक क्षेत्र अगाडि बढ्नेछ ।’

अर्थमन्त्री डा. खतिवडाले वाम गठबन्धनका तर्फबाट जनतासमक्ष गरेका प्रतिबद्धतालाई कार्यान्वयन गरेर लैजानु आफ्नो दायित्व भएको उल्लेख गर्दै राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई पनि सँगसँगै लैजाने बताए ।

संविधानले लोककल्याणकारी राज्य हुँदै समाजवादउन्मुख हुँदै गर्दा संविधानप्रदत्त लोककल्याणकारी राज्यको भूमिकालाई अग्रणी नेतृत्व दिने जिम्मेवारी लिनेक्रममा निजी, सहकारी र सामुदायिक क्षेत्रसँग परिपूरकताका आधारमा सहकार्य गरेर अगाडि बढ्ने उनले बताए ।

अर्थमन्त्री डा. खतिवडाले आर्थिक समृद्धि र गरिबी निवारणमा अवरोध गर्ने सरकारी वित्त व्यवस्थापनमा देखिने अनुशासनहीनताको अन्त्य गर्नुपर्नेमा जोड दिँदै ‘सरकारी वित्त प्रणालीमा हामी अनुशासन कायम गराउँछौं र खर्चको प्रभावकारितामा अघि बढ्छौं’–भने ।

वित्तीय प्रणालीमा स्थायित्व ल्याउनुपर्ने उल्लेख गर्दै उनले साधन र स्रोतलाई उत्पादन क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताए ।

अर्थमन्त्री डा. खतिवडाले देशमा देखिएको आर्थिक समस्या आन्तरिक कारणबाट भएको उल्लेख गर्दै ‘वित्तीय प्रणालीका संरचनात्मक समस्यालाई सुधार गरेर वित्तीय स्थायित्व ल्याउँछौं’–भने ।

उच्च आर्थिक वृद्धिको इन्जिन निजी क्षेत्र भएकाले आन्तरिक तथा बाह्य क्षेत्रलाई परिचालन गरेर परिकल्पना गरेका विकासका आयोजना र पूर्वाधारलाई अगाडि बढाउने बताउँदै उनले व्यापार लगानी र प्रविधि हस्तान्तरणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक हुने स्पस्ट पारे ।

अर्थमन्त्री डा. खतिवडाले वैदेशिक सहायतालाई राष्ट्रियअनुकूल ठूलोरुपमा परिचालन गर्नुपर्ने बताउँदै मानिसको क्षमताको पहिचान संकटकैबेला हुने भएकाले आफूले क्षमता प्रदर्शन गरेर समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नरको जिम्मेवारी सम्हालिसकेका डा. खतिवडा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिरपरिचित अर्थशास्त्री हुन् ।

समारोहमा अर्थमन्त्रीलाई स्वागत गर्दै अर्थसचिव शंकरप्रसाद अधिकारीले अर्थमन्त्रीमा डा. खतिवडाको नियुक्तिले सरकारले अर्थतन्त्र अब कसरी अगाडि बढ्छ भन्ने स्पस्ट सन्देश दिएको उल्लेख गर्दै आगामी दिनमा मुलुक समष्टिगत आर्थिक स्थायित्वतर्फ अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

उनले भने–‘अबको सरकारको लक्ष्य आर्थिक वृद्धिदर र सामाजिक न्याय नै हो, त्यसलाई अगाडि बढाउनुपर्छ ।’

अर्थसचिव अधिकारीले संघ र प्रदेशबीचको साझा बुझाइमा संघीयतालाई अगाडि बढाउनुपर्ने चुनौती रहेको पनि बताए ।

सो अवसरमा राजश्वसचिव शिशिरकुमार ढुंगानाले अर्थमन्त्री डा. खतिवडाको कार्यकालमा मन्त्रालय व्यावसायिकरुपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै विद्यमान आर्थिक अवस्थाकाबारेमा जानकारी गराएका थिए । रासस