काठमाडौं, मंसिर १५ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत् शनिबार भएको पहिलो खेलमा संकटा क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ ।
हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा भएको खेलमा संकटाले च्यासल युथ क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।
जितसँगै संकटाले ३ अंक जोडेको छ ।
संकटाले खेलको २३औं मिनेटमा पेनाल्टीबाट अग्रता लिएको थियो । संकटाका फरवार्ड सेड्रिक अबाले पेनाल्टी क्षेत्रभित्रबाट दिएको क्रस च्यासलका छिरिङ गुरुङले हातले रोकेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । अमित तामाङले पेनाल्टीलाई गोलमा परिणत गरेका हुन् ।
त्यसैगरी, खेलको ४८औं मिनेटमा एलोन म्याक्सवेलले गोल गरेका थिए । खेलको ८७औं मिनेटमा च्यासलले गोल फर्काएको थियो ।
संकटाका कप्तान सरोज दाहालले च्यासलका सन्तोष साहुखललाई डीबक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा सन्तोषले गोल गर्दै च्यासललाई २–१ मा ल्याएका थिए । त्यसपछि खेलमा गोल हुन सकेन र खेल संकटाले २–१ ले जित्यो ।
खेलमा संकटाका नीतिन थापा ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु १० हजार प्राप्त गरे ।
जितसँगै संकटा लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । संकटाले पाँच खेलमा १२ अंक जोड्न सफल भएको छ ।
च्यासल भने पाँच खेलमा तीन हार, एक जित र एक बराबरीसहित ४ अंकमै सीमित छ । रासस








प्रतिक्रिया दिनुहोस्