१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


सी, पुटिन र मोदी त्रिपक्षीय सहयोग विस्तारमा सहमत


0
Shares

ब्यूनस आयर्स, मंसिर १५ । चीन, रुस र भारतका नेता तीन देशबीचको सम्बन्ध र सहयोगका क्षेत्रको विस्तारका लागि सहमत भएका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार भएको भेटवार्ताकाक्रममा यस्तो सहमति भएको बताइएको छ ।

विश्वमा शान्ति, विकास र स्थायित्वका लागि तीन देशले आपसमा समझदारी र समन्वयका साथ अघि बढ्नुका साथै यी देशको द्धिपक्षीय तथा बहुपक्षीय सम्बन्ध विस्तारमा पनि सहयोग पुग्ने धारणा उनीहरुको छ ।

शुक्रबार ब्यूनस आयर्समा भएको त्रिपक्षीय तथा संयुक्त भेटकाक्रममा सो सहमति भएको जनाइएको छ । उनीहरुबीच शुक्रबार साँझ अनौपचारिक भेट र वार्ता भएको हो ।

सो भेटकाक्रममा चिनियाँ राष्ट्रपति सीले चीन, रुस र भारत एकापसका महत्वपूर्ण तथा रणनीतिक साझेदार राष्ट्र भएकाले पनि एकापसमा मिलेर सहयोग र समन्वयका कार्यक्रम बनाउनुपर्ने धारणा राखे ।

राष्ट्रपति सीले तीन देशको साझा चासो र एकैखाले विकास लक्ष्यका साथ अघि बढ्नसकेमा क्षेत्रीयरुपमामात्र नभएर विश्वकै विकास र स्थायित्वमा पनि ठूलो सघाउ पुग्ने बताए ।

गएका १० वर्षमा तीनओटै देशले सक्रिय, द्धिपक्षीय तथा त्रिपक्षीयरुपमा वार्ता गर्दै आएको, निकै खुलारुपमा भएका ती वार्ता तीन देशबीच खुलापनको प्रवर्धन, आपसी एकताका साथै समझदारी निर्माण र आपसी विश्वासमा आधारित आयोजनाको निर्माण गर्न सघाउ पुगेको उनले बताए ।

अहिले क्षेत्रीय, विश्वव्यापीरुपमा पनि एक किसिमले भन्ने हो भने विभिन्नखालका र नयाँ–नयाँ चुनौतीको विकास भइरहेकाले यस्ता समस्या समाधान सामूहिकरुपमा खोज्नका लागि पनि त्रिपक्षीय वार्तालाई अघि बढाउन आवश्यक रहेको पनि राष्ट्रपति सीले बताए ।

उनले तीन देशले आगामी दिनका लागि नयाँखालको सम्बन्ध विस्तार गरी आपसी राजनीतिक विश्वासका साथ अघि बढ्नसके यस क्षेत्रमा र विश्वमासमेत देखिएका यस्ता नयाँ–नयाँ समस्याको समाधानका लागि सहयोग पुग्ने धारणा सो त्रिपक्षीय भेटका अवसरमा राखेका थिए ।

राष्टपति सीले जी–२० का साथै ब्रिक्स र साङघाई कोअपरेसन अर्गनाइजेसनसमेत गरी तीन देशले एक अन्तर्राष्ट्रिय त्रिपक्षीय साझा संयन्त्रको विकास गरी अघि बढ्नुपर्नेमा जोड दिएको जनाइएको छ । रासस/सिन्ह्वा