चौंरी गोठले करोडपति बने मनाङका कान्छा गुरुङ • Image Khabar Image Khabar


चौंरी गोठले करोडपति बने मनाङका कान्छा गुरुङ


Imagekhabar
१६ फाल्गुन २०७४, बुधबार १२:२७

चौंरी गोठले करोडपति बने मनाङका कान्छा गुरुङ

मनाङको नेस्यङ गाउँपालिका–६, मनाङ गाउँका ३२ वर्षीय कान्छा गुरुङ भने युवा जोसजाँगरका साथ चौंरी गोठमा रमाइरहेका छन् । ११ वर्षकै उमेरबाट चौंरी गोठमा बसेका कान्छा गुरुङले कक्षा ८ सम्म पढेका छन् ।

विद्यालय खुल्ने याममा आफू चौंरी गोठमा बस्नुपर्ने र हिउँदमा गोठ तल झर्दा विद्यालय बन्द हुने भएकाले राम्रोसँग पढ्न नपाउँदा पढाइ छोड्नु परेको उनको भनाइ छ ।

आजकाल पढेलेखेका युवा विदेशिएका र जागिरको सिलसिलामा शहर बजारमा भौँतारिएको देख्दा आफूले अँगालेको पुर्ख्यौली पेशा नै उचित भएको उनी बताउँछन् । ११ वर्षदेखि चौंरी गोठमा बस्दै आएका कान्छा गुरुङले शुरुमा जम्मा १० वटा चौंरीबाट यो पेशाको थालनी गरेको बताए ।

अहिले ६० वटा चौंरी र १५ वटा भाले (याक) रहेका छन् । उनी चौरीको दूध दुहुने, मोही पार्ने र दूधदहीबाट विभिन्न परिकार, चिज, नौनी, घ्यु र छुर्पी बनाउछन् । अहिले एक केजी नौनीको रु २५ सय पर्छ भने एक पालामा करिव १० केजी नौनी हुन्छ । उनले उत्पादन गरेका यी परिकारहरु मनाङका होटललगायत काठमाडौं, पोखरा र बाहिरी मुलुकमा समेत पुग्ने गरेका छन् ।

त्यस्तै, एउटा याकको मूल्य अहिले रु एक लाख २० देखि ३० हजारसम्म पर्छ । कान्छा गुरुङले वर्षमा चार÷पाँचवटा याक बेच्ने गरेको र एक वर्षमा १० देखि १२ लाखसम्म आम्दानी गर्ने गरेको बताए ।

कान्छा भन्छन्, ‘अहिले आफूसँग भएका सबै चौंरी र याकको मुल्य चार÷पाँच करोड पुग्छ ।’

शुरु शुरुमा त रमाईलो नै भयो बीचमा आफ्ना साथीहरु विदेश गएको देखेर आफूलाई पनि सबै छाडेर विदेशिने रहर जागेको बताउँदै उनले घरको समस्याले गर्दा गोठमै थन्किनु पर्दा नरमाइलो लागेको बताए । अहिले विदेशिएका साथीहरुको अवस्था देख्दा आफूले गरेको कामप्रति सन्तुष्टि मिलेको उनी बताउँछन् ।

उनी भन्छन्, ‘काम भनेको सानो ठूलो हुँदैन, जे गरे पनि हुन्छ । आफूले जति मिहेनत गर्‍यो उत्तिनै फल पाइन्छ ।’

‘हिमालको काखमा हिउँसँग चिप्लँदै चौंरीको पछि लाग्न कहाँ सजिलो छ र ?’ उनले भने, ‘तैपनि रमाउँदै रमाउँदै यिनै चौंरीको पछि लागेको छु जसले मलाई सबथोक पुर्‍याएको छ ।’

हिमालको काखमा चिसो हिउँसँगै आफू जोगिएर हिउँ चितुवासँग चौंरी जोगाएर आफ्नो परिवारसँग रमाउन पाएकोमा उनी गर्व गर्छन् । अहिले उनको घरमा उनकी श्रीमती र एक छोरीमात्र छन् । कान्छा भन्छन्, ‘आजकलका युवाहरुमा विदेशिने मोह जागेको छ जसले युवालाई आफू र आफ्नोपन के हो भन्ने थाहै छैन ।’

घरजग्गा बन्धक राखेर विदेशिएका युवा साथीहरु ऋण तिर्न नसकेर रोएका छन् त कोही अलपत्र परेका छन् । यस्तो अवस्था देख्दा आफूले अँगालेको पेशामा गर्व लागेको उनी बताउँछन् । गर्नसके आफ्नो ठाउँमा नै सबथोक छ । पैसा कमाउन पराइको गुलाम बन्नु पर्दैन । जे गरे पनि हुन्छ । शुरुमा १० वटा चौंरीबाट शुरु गरेका कान्छा गुरुङ अहिले करोडपति बनीसकेका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्