२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024


‘वैदेशिक रोजगारीमा गएकामध्ये एक वर्षमा ७७७ जनाको मृत्यु’


0
Shares

काठमाडौं, असार १३ । एक वर्षकै अवधिमा वैदेशिक रोजगारीमा गएकाहरुमध्ये ७७७ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म भने ६ हजार ६५९ जनाको विदेशमा मृत्यु भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिनेक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले चालू आर्थिक वर्षमा ७७७ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

मन्त्री विष्टले स्वदेशमा रोजगारीका अवसर नहुँदा ४३ लाख श्रमशक्ति विदेश जान बाध्य भएको भन्दै सात वर्षदेखि गन्तव्य मुलुकका अस्पतालमा २३ जना नेपाली श्रमिक ‘कोमा’मा रहेका जानकारी पनि उनले दिए ।

३३५ जना विभिन्न मुद्दामा जेल र हिरासतमा जीवन बिताइरहेको पनि उनले बताए ।

विदेशी जेलमा रहेका नेपाली कामदारको रक्षाका लागि १० दिनभित्र प्रक्रिया थाल्ने प्रतिबद्धता उनको छ ।

प्रत्येक दिन कम्तीमा एक हजार युवा विदेशिन बाध्यमध्ये कतिपय अपांग भएर फर्कनुपर्ने अवस्थामा रहेको भन्दै उनले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी रोक्न जस्तोसुकै कदम चाल्न प्रण गरे ।

चालू आर्थिक वर्षमामात्रै ११ हजार ९३ जनाले ठगिएको उजुरी दिएका छन् ।

वैदेशिक रोजगारीमा जाने युवा ठगिन नदिन कूटनीतिक नियोग, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार कार्यालय, मेनपावर कम्पनी, इन्स्योरेन्स कम्पनी तथा पासपोर्ट र अध्यागमनलाई एउटै अनलाइनमार्फत् काम गर्ने गरी गृहकार्य भइरहेको जानकारी पनि उनले गराए ।