
हालसम्म मोदीमा दुईओटा आयोजना निर्माण भइन् सन्चालनमा छन् भने दुईओटा निर्माणाधीन छन् । अन्य तीनओटा आयोजना निर्माणको प्रक्रियामा छन् ।
पोखरा–बाग्लुङ राजमार्ग सन्चालनमा आएसँगै मोदीखोलामा जलविद्युत् आयोजना निर्माणको बाटो खुलेको हो ।
सन् २००० देखि नेपाल विद्युत् प्राधिकरणले निर्माण सुरु गरेको १४.८ मेगावाटको मोदीखोला जलविद्युत् आयोजनाले २०५७ देखि उत्पादन सुरु गरेको थियो ।
त्यसैगरी, २०६९ मा युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको युनाइटेड मोदी–१ आयोजनाबाट १० मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।
अहिले मनाङ ट्रेड लिंकको २० मेगावाटको तल्लोमोदी र चौधरी ग्रुपको १५.१ मेगावाटको मध्यमोदी आयोजना निर्माणाधीन अवस्थामा छ ।
तल्लोमोदीको ९५ प्रतिशतभन्दा बढी काम तथा मध्यमोदीको करिब आधा काम सकिएको आयोजनाले जनाएको छ ।
तल्लोमोदीको निर्माणमा ढिलाइ भएको आयोजना प्रमुख पवनकुमार यादवले जानकारी दिए ।
मोदीखोलामा पछिल्लो समय विद्युत् प्राधिकरणले दुईओटा तथा युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले एउटा आयोजना निर्माण गर्दैछ ।
प्राधिकरणले ४२ मेगावाटको अपर मोदी ‘ए’ र १८.२ मेगावाटको अपर मोदी निर्माण गर्ने प्रक्रिया थालेको छ ।
युनाइटेड मोदीले १०.५ मेगावाटको युनाइटेड मोदी–२ निर्माण थाल्न सर्वसाधारणबाट लगानी जुटाएको थियो ।
प्राधिकरणले अपर मोदी ‘ए’ र अपर मोदी निर्माणको काम अघि बढाएको छ । आयोजना प्रमुख सञ्जीवमान राजभण्डारी १० महिनाभित्र डीपीआर तयार हुने बताउँछन् ।
सातओटा आयोजनाबाट १३० मेगावाट विद्युत् उत्पादन हुने छ । हाल सन्चालनमा रहेका मोदीखोला र युनाइटेड मोदीबाट २४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।
निर्माणाधीन १५.१ मेगावाटको मध्यमोदी आयोजनाको लागत अनुमान रु तीन अर्ब रहेको छ भने तल्लोमोदीको निर्माण लागत रु साढे तीन अर्ब अनुमान गरिएको छ ।
मोदीखोलामामात्रै जलविद्युत् आयोजनामा कम्तीमा रु २६ अर्ब लगानी हुने देखिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्