
आयोजनाका प्रमुख पशुपतिराज गौतमकाअनुसार तोकिएको समयभन्दाअगावै ६ दिन १० घन्टामा आयोजनाको मर्मतकार्य सम्पन्न भइ बिहीबार साँझ १८ः३० बजेबाट विद्युत् उत्पादन पुनः सुरु गरिएको छ ।
प्राधिकरणले मर्मतकार्य सम्पन्न गर्न १० दिन लाग्ने बताएको थियो । मर्मत यही फागुन ११ गतेदेखि सुरु भएको हो ।
आयोजनाको बाँधको देब्रेतर्फको क्षेत्रमा भू–क्षयलाई रोक्न राखिएको संरचनाको मर्मत गत शुक्रबारदेखि सुरु गरिएको थियो ।
वर्षात्को पानीले हिर्काएर क्षति पुगेको ठाउँमा थप क्षति हुनबाट रोक्न पर्खाल लगाइएको प्रमुख गौतमले जानकारी दिए ।
मर्मतकाक्रममा दैनिक ४०० मजदुर परिचालन गरिएको थियो ।
नेपाल विद्युत् प्राधिकरण भार प्रेषण केन्द्रले बिहीबार साँझसम्ममात्रै आयोजना बन्द गर्न स्वीकृति दिएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपकार्यकारी निर्देशक हरराज न्यौपानले गत शनिबार केन्द्रको स्थलगत निरीक्षण गरी तोकिएकै समयमा मर्मतको काम सक्न निर्देशन दिएका थिए ।
आयोजना प्रमुख गौतमकाअनुसार बिहीबार आयोजनाले २८ मेगावाट विद्युत् उत्पादन गरेको छ । आयोजनाको एउटामात्रै मेसिन चलाइएको छ । अर्को मेसिन यही फागुन २३ गतेदेखिमात्रै सन्चालनमा आउनेछ ।
विद्युत्को माग बढी हुने साँझ र बिहानको समयमा ७० मेगावाट विद्युत् उत्पादन हुने मध्यमर्स्याङ्दी बन्द हुँदा प्राधिकरणले कुलेखानीका दुवै आयोजना सन्चालन गर्नुपरेको थियो ।
मध्यमर्स्याङ्दी बन्द हुँदा प्रणालीमा कुनै समस्या नआएको र विद्युत् आपूर्ति अवरुद्ध नभएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।
आयोजना बन्द हुँदा कुलेखानीको दुवै आयोजनाबाट ९२ मेगावाट विद्युत् उत्पादन गरेर भार व्यवस्थापन गरिएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।
आयोजनाको बाँधमा थुप्रिएको बालुवा निकाल्दासमेत आयोजनालाई रु १८ लाख आम्दानी भएको छ ।
जिल्ला प्रशासन कार्यालय लमजुङ, जिल्ला समन्वय समिति र बेसीसहर नगरपालिकासँग समन्वय गरी केन्द्रले बोलकबोलमार्फत् बालुवा निकाल्ने ठेक्का दिएको थियो ।
नदीमा पानीको प्रवाह कम भएका कारण साँझ र बिहानमात्रै आयोजनाले ७० मेगावाट विद्युत् उत्पादन गर्ने आयोजना प्रमुख गौतमको भनाइ छ । रासस
प्रतिक्रिया दिनुहोस्