
६३ सदस्यीय संसदीय दलको नेता बन्नका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले चुनावी मैदानमा उत्रने घोषणा गरेका छन् ।
कतिपय सांसदहरु भने अझै सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने पक्षमा छन् ।
संसदीय निर्वाचनमा नमीठो हार बेहोरेका कांग्रेसका नेताले निर्वाचन सकिए लगत्तै हारको कारण एकले अर्कोलाई लगाएर आफू पन्छिने प्रयासमा छन् ।
त्यही हारलाई कारण देखाउँदै एकाथरीले नेतृत्व परिवर्तनको आवाज उठाए भने अर्का थरीले अनुशासनहीनता बढ्दा र दुई कम्युनिष्ट एक हुँदा चुनाव हार्नुपरेको तर्क गरिरहेका छन् ।
यही विषय संसदीय दलको नेता चयनमा पनि मुद्धा बनेर गएको छ । हारपछि पार्टी एक भई रचनात्मक प्रतिपक्षमा सशक्त ढंगबाट उभिनुपर्ने कांग्रेस आफैंभित्र निर्वाचन गरेर जग हसाउने दिशातर्फ उद्दत हुँदैछ ।
सोमबार बिहान हुने संसदीय दलको नेता चयनका लागि आइतबार बेलुका मनोनयन गरिने छ । संसदीय दलको निर्वाचनमा पनि यसअघिको गुटगत राजनीति प्रष्टसम्म देखिँदैछ ।
रामचन्द्र पौडेल पक्षीय सांसद तेजुलाल चौधरी देशभरका कांग्रेस कार्यकर्ता नेतृत्व परिवर्तनको पक्षमा रहेकाले संसद्मा गएर प्रभावकारी भूमिका खेल्न सक्नेलाई दलको नेता चयन गर्नुपर्ने बताउँछन् ।
सभापतिले छाडेर अन्य नेतालाई सर्वसम्त नेतृत्व दिलाउनुपर्ने पक्षमा आफूहरु रहेको उहाँको भनाई छ ।
सभापति देउवा पक्षीय नेता डा. प्रकाशशरण महत पार्टीलाई एकताबद्ध बनाएर लैजान सभापतिकै नेतृत्वमा संसदीय दल रहनुपर्ने बताउँछन् ।
संसदीय दलको नेता सर्वसम्मत चयन गर्नुपर्ने पक्षमा कांग्रेसकै केही नेता लागिपरेका छन् ।
दुई वटा कम्युनिस्ट पार्टी एक भएर मुलुकलाई अधिनायकवादतर्फ लैजान लागेको संकेत देखिएका बेला प्रमुख प्रतिपक्षी दलभित्र नेतृत्व चयनमा विवाद गर्न नहुने भएकाले सहमति गर्नुपर्ने कांग्रेस नेता डा.नारायण खड्का बताउँछन् ।
प्रतिनिधिसभामा नेपाली कांग्रेसका ६३ सांसद छन् । तीमध्ये देउवा पक्षमा ३८ र पौडेल पक्षमा २२ जना रहेको बताइएको छ ।
केही सांसद अझै खुलिसकेका छैनन् । नेता बन्न कम्तिमा ३२ सांसद्को समर्थन आवश्यक पर्छ । गोप्य मतदान हुुने भएकाले कसको पक्षमा कति सांसद उभिन्छन् भन्न अहिले नै सकिने अवस्था छैन ।
प्रतिक्रिया दिनुहोस्