युरोप लैजाने भन्दै टर्की पुर्‍याएर अपहरण, दलालले कति रकम असुल्छन ? • Image Khabar Image Khabar


युरोप लैजाने भन्दै टर्की पुर्‍याएर अपहरण, दलालले कति रकम असुल्छन ?


Imagekhabar
२० फाल्गुन २०७४, आईतवार ०६:५२

युरोप लैजाने भन्दै टर्की पुर्‍याएर अपहरण, दलालले कति रकम असुल्छन ?

काठमाडौं, फागुन २० । टर्कीको इस्तानबुलबाट अपहरणमा परेका तीन नेपाली १८ लाख ६५ हजार रुपैयाँ फिरौती बुझाएर स्वदेश फर्केको एक सातामै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सप्तरीका ओमप्रकाश पञ्जियारलाई पक्राउ गर्‍यो ।

उनलाई ८ फागुनमा पक्राउ गरिएको थियो । टर्कीमा भएको अपहरण घटनामा नेपाल बस्ने पञ्जियारको संलग्नता कसरी हुन पुग्यो ?

यही प्रश्नको उत्तरमा लुकेको छ, वैदेशिक रोजगारीको आकर्षक जालमा पारी मानव बेचबिखन र अपहरण गर्ने पछिल्लो प्रवृत्तिको कथा ।

भनेजस्तो जागिर र खोजेजस्तो तलब मिलाइदिने भन्दै गत जेठमा पञ्जियारले खोटाङको रूपाकोट नगरपालिका ४ का टीकाराम विश्वकर्मा र मोरङ केराबारीका किरण मगरसँग जनही ६ लाख ५० हजार रुपैयाँ लिएका थिए ।

त्यसलगत्तै उनले दुवैलाई भारतको नयाँदिल्ली पुर्‍याएर तीन महिनासम्म झुलाएर राखे । मकाउमा भिसा लाग्न नसकेको भन्दै पञ्जियारले दुवैलाई टर्की पुर्‍याइदिने र भनेजस्तो जागिर मिलाइदिने आश्वासन दिए ।

तर टर्की पुगेपछि उनीहरूले न भनेजस्तो जागिर पाए, न त्यहाँबाट सजिलै युरोप छिर्न नै ।

त्यसपछि आफूहरूलाई नेपाल फर्काइदिन पञ्जियारलाई अनुरोध गरिरहेकै बेला विश्वकर्मा, मगर र त्यहीँ भेट भएका ताप्लेजुङका टीका लिम्बू गत माघ २१ मा अपहरणमा परे ।

तीनै जनालाई पाकिस्तानी नागरिक निर्जा कासिफले अपहरण गरेका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरोमा असारयताको आठ महिनामा मात्रै टर्कीमा अपहरणमा परी फर्केका तीन फरक–फरक घटनाको उजुरी दर्ता भएको देखिन्छ ।

ब्युरोका अनुसार तीन उजुरीमा २४ नेपाली पीडित बनेका छन् भने उनीहरूले दस जनाविरुद्ध उजुरी दर्ता गरेका छन् ।

ब्युरोले दसमध्ये ६ जनालाई पक्राउ गरेको छ भने अन्यको खोजी जारी छ । -कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्