
काठमाडौं, असार १३ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सन् २०१६ मा चीनसँग भएको व्यापार र पारवहन सम्झौताको ‘प्रोटोकल’को मस्यौदा तयार गरी चीन सरकारलाई पठाइएको जानकारी दिएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नका जवाफ दिँदै उनले सो मस्यौदामाथि आगामी जुलाई दोस्रो सातामा दुईपक्षीय वार्ता हुने जानकारी दिए ।
हालै प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको चीनको औपचारिक भ्रमणकाक्रममा उक्त प्रोटोकलमा आगामी जुलाईमा हस्ताक्षर गर्ने सहमति भएको थियो ।
ओली प्रधानमन्त्री हुँदा सन् २०१६ मा व्यापार र पारवहन सम्झौता भएको हो ।
उनले मूल्यवृद्धि कम गर्ने र बजार अनुगमन प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
उदारीकरण र निजीकरणको नाममा विगतमा सार्वजनिक संस्था बेच्ने काम भएको प्रसंग पनि उनले उल्लेख गरे ।
मन्त्री यादवसँग सांसदहरु प्रेम सुवाल, रामबहादुर विष्ट, दिव्यमणि राजभण्डारी, गंगा चौधरी सतगौवा र लक्ष्मी चौधरीले थप स्पष्टीकरण मागेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्