
विरानगर, मंसिर १३ । संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन राष्ट्रिय गौरवको बहुचर्चित परियोजना अरुण तेस्रो जलविद्युत् आयोजनाको कामले गति लिएको निर्माण पक्षले दाबी गरेको छ ।
भारतीय विद्युत निर्माण कम्पनी सतलज जलविद्युत् निगमले ६ महिनाको अवधिमा आयोजनाका लागि अहिले सडक, ड्यामसाइड, पावरहाउस, सुरुङमार्ग निर्माणको कार्य सुरु गरिसकेको जनाएको छ ।
लगानी बोर्डको कार्यालयले विराटनगरमा बिहीबार आयोजना गरेको कार्यक्रममा अरुण–३ आयोजनाका प्रमुख कार्यकारी अधिकृत सतिशकुमार शर्माले पाँच वर्षभित्र सम्पन्न भइसक्ने गरी काम अगाडि बढाइएको बताए ।
आयोजनाका लागि आवश्यक पर्ने जग्गाका लागि एक अर्ब २९ करोड रुपैयाँ मुआब्जा बाँडिसकेको जनाइएको छ ।
नेपाल सरकारको सबैभन्दा ठूलो परियोजनाको निर्माणकार्यलाई थप प्रभावकारी बनाउन आयोजनाले प्रदेश नम्बर–१ का उद्योगी, व्यापारी, इन्जिनियर तथा परियोजनासँग सम्बन्धित व्यक्तिहरुसँग छलफलसमेत गरेको छ ।
उद्योगी–व्यवसायीहरुले आयोजनाले स्वदेशमै उत्पादित निर्माण सामग्रीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।
प्रदेश–१ प्रमुखसचिव केदार न्यौपानेले ९०० मेगावाटको अरुण–३ प्रदेशकै लागि गौरवको विषय भएको र यसले विकासको ढोका खोल्ने भएकाले प्रदेश नम्बर–१ बासीका तर्फबाट सबै प्रकारको सहयोग उपलब्ध गराउन प्रदेश सरकार तयार रहेको जानकारी दिएका थिए ।
आयोजनाको निर्माण लागत १०४ अर्ब रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्