बजेटको मध्यावधि समीक्षाः आर्थिक वृद्धि ६ प्रतिशत हुने संशोधित अनुमान • Image Khabar Image Khabar


बजेटको मध्यावधि समीक्षाः आर्थिक वृद्धि ६ प्रतिशत हुने संशोधित अनुमान


Imagekhabar
२३ फाल्गुन २०७४, बुधबार २०:३७

बजेटको मध्यावधि समीक्षाः आर्थिक वृद्धि ६ प्रतिशत हुने संशोधित अनुमान

अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको मध्यावधि समीक्षामा ६ प्रतिशत आर्थिक वृद्धि हासिल हुने संशोधित अनुमान सार्वजनिक गरेको हो । बजेटमा ७.२ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको थियो ।

यस्तै, मूल्यवृद्धि दर ६ प्रतिशतमाथि नजाने अनुमान अर्थ मन्त्रालयको छ । ६ महिनाको अवधिसम्म पुँजीगत खर्च १४.३ प्रतिशतमात्रै भएको छ भने चालू खर्च ४१.२ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ ।

चालू आर्थिक वर्षमा ७० प्रतिशत पुँजीगत खर्च हुने अनुमान मन्त्रालयको छ ।

समीक्षा अवधिसम्मको लक्ष्यको तुलनामा राजश्व असुली शतप्रतिशतमाथि रहेको जनाइएको छ । ६ महिनासम्म ३ खर्ब ३५ अर्ब रुपैयाँ राजश्व संकलन भएको जनाइएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्रमार्फत् अर्थतन्त्रको भविष्यको बाटो सार्वजनिक गर्ने बताए ।

उनले भन्सार प्रशासनलाई चुस्त बनाउने अभियान सुरु भइसकेको भन्दै ‘मुहान सफा भएर दरबारमार्गजस्ता ठाउँमा अनुगमन गर्न आवश्यक नहुने’ बताए ।

सामाजिक सुरक्षाको नाममा नगद बाँड्ने प्रवृत्ति रोक्ने भन्दै उनले सामाजिक सुरक्षासँगसम्बन्धी अरु विकल्प अघि सारिने पनि बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले २ खर्ब ८५ अर्ब सरकारी रकम राष्ट्र बैंकका रहेको बताए ।

बैंकमा रहेको सरकारी रकम बजारमा आउने र त्यसले तरलतामा पनि सुधार ल्याउने उनले विश्वास व्यक्त गरे ।

यस्तै, अर्थसचिव शंकरप्रसाद कोइरालाले चालू खर्च नियन्त्रणतर्फ केन्द्रित हुन लागेको भन्दै छिट्टै मितव्ययिता नीति सार्वजनिक गरिने बताए ।

स्रोत व्यवस्थापनमा चुनौती थपिएको भन्दै उनले चालू खर्च नियन्त्रणलाई प्राथमिकता दिइने उल्लेख गरे ।

३ खर्ब बढी गैर–बजेटरी माग आएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्