Logo ५ कार्तिक २०८२, बुधबार | Wed Oct 22 2025


अत्यधिक रक्तश्रावबाट सुत्केरीको मृत्यु


0
Shares

बुधबार सुत्केरी व्यथा लगेर अस्पताल भर्ना भएकी थुलुङ, दूधकोसी गाउँपालिका–८ देउसाकी १८ वर्षीया अनिषा राईलाई बचाउन सकिएन ।

सामान्य तरिकाले शिशु जन्माएकी राईको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको जिल्ला अस्पताल फाप्लुका मेडिकल अधिकृत डा. राजेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

बिहीबार अपराह्न १ः४५ बजे छोरालाई जन्म दिएकी राईको सालसँगै पाठेघरसमेत योनीमार्गमा आएर अत्यधिक रक्तश्राव भएको डा. बस्नेतले बताए ।

‘तत्काल उपचार सम्भव नभएपछि जनरल एनेस्थेसिया पद्धतिबाट उपचार गर्नुपर्ने भएपछि थप उपचारका लागि मिसन अस्पताल ओखलढुंगा रेफर गरिएको थियो’–उपचारमा संलग्न डा. दिलीप कोजुले भने–‘पूरै शरीर बेहोस बनाएर पाठेघरलाई यथास्थानमा राख्ने या शल्यक्रियामार्फत् पाठेघर काटेर फाल्नुपर्ने हुन्छ, यो उपचार सेवा अञ्चल अस्पतालबाहेक अन्यमा उपलब्ध हुँदैन, त्यसैले रेफर गर्नुको विकल्प थिएन ।’

‘अत्यधिक रक्तश्राव हुन थाल्यो, ओ पोजेटिभ रगत आवश्यक पर्ने भएपछि अस्पतालक स्वास्थ्य सहायक आङलह्मु लामाले रगतसमेत दिनुभएको थियो’–डा बस्नेतले भने–‘मिसन अस्पताल ओखलढुंगामा सम्पर्क गरी थप उपचारका लागि तत्काल जिप खोजेर डा. कोजु र स्टाफ नर्ससहित त्यसतर्फ लागेका थियौं, सुत्केरीको बाटोमै मृत्यु भयो ।’

सुत्केरी बचाउन रगतसहित गएपनि करिब २० किमिको दूरीमा पर्ने तिङ्लाको रमितेमा उनको मृत्यु भएको थियो ।

आफन्तले जिल्लामा स्रोत र साधन नहुँदाको उपज आफूहरूले भोग्नुपरेको प्रतिक्रिया दिएका छन् ।

बाटोमै मृत्यु भएको शंका लागेपछि सुत्केरीलाई पुनः जिल्ला अस्पताल फाप्लु नै फर्काएर इसीजी गरिएको थियो ।

सुत्केरीको जेठाजु नाता पर्ने थामकुमारले भने–‘जिल्लामा स्रोत–साधनयुक्त अस्पताल नहुँदा सुत्केरीको अकालमै ज्यान गयो, राज्यले ध्यान दिनु जरुरी छ ।’ रासस