Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


भगिमानसिंह आमन्त्रण फुटबल प्रतियोगिता पुस २ बाट


0
Shares

तेह्रथुम, मंसिर १३ । तेह्रथुममा आगामी पुस २ गतेबाट जिल्लाकै सर्वाधिक राशीको भगिमानसिंह आमन्त्रण पुरुष नकआउट फुटबल प्रतियोगिता सन्चालन हुने भएको छ । म्याङलुङ नगरपालिका–२ मा फुटबल मैदान निर्माण भएपछि चासोक तङ्नामको अवसरमा सर्वाधिक राशीको जिल्लाकै पहिलो आमन्त्रित फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो । 

आयोजक भगिमानसिंह तुम्बाहाम्फे स्मृति प्रतिष्ठानले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा प्रदेश नं. १ का तेह्रथुमसहित धनकुटा, संखुवासभा, पाँचथर, ताप्लेजुङ, सुनसरी, मोरङ, झापा, इलाम र उदयपुर गरी १० टिम सहभागी हुने जानकारी गराएको छ । प्रतियोगिताको विजेतालाई नगद २ लाख ५ हजार र उपविजेतालाई नगद १ लाख १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रचार प्रसार समितिका संयोजक जुली सुब्बाको भनाइ छ । 

पुस ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि २५ लाख रुपैयाँभन्दा बढी खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिता अवधिभर जिल्लाको पहिचान झल्किने मौलिक संस्कृति र मौलिक खानाहरुको स्टलसमेत राख्ने तयारी छ । जिल्लामा यसअघि फुटबलका लागि आवश्यक मैदान नहुँदा ठुला प्रतियोगिताहरु सञ्चालन हुने गरेका थिएनन् ।