महिला हिंसासँगै बढ्यो पुरुष हिंसा पनि • Image Khabar Image Khabar


महिला हिंसासँगै बढ्यो पुरुष हिंसा पनि


Imagekhabar
२५ फाल्गुन २०७४, शुक्रबार ०८:१३

महिला हिंसासँगै बढ्यो पुरुष हिंसा पनि

१०८ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जिल्ला समन्वय समिति भक्तपुर, महिला विकास कार्यालय, भक्तपुर र नेपाल रेडक्रस सोसाइटी, भक्तपुरले आयोजना गरेको लैंगिक तथा समावेशीकरणसम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले महिला र पुरुषबीचको विभेदलाई जरैदेखि उखेल्न नसकिएको बताउँदै यसको अन्त्य गर्न अझै समय लाग्ने बताए ।

पुरुषले महिलामाथि गर्ने हिंसाको विरुद्ध आवाज उठाइरहँदा महिलाले महिला माथि गर्ने हिंसा र महिलाले पुरुषमाथि गर्ने हिंसा पनि बिकराल बन्दै गएको भन्दै उनले सबै प्रकारका हिंसाको अन्त्य गर्नु जरुरी रहेको बताए ।

त्यसअवसरमा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले महिला हिंसाको अन्त्य गर्नसके समाज विकास तीव्रगतिमा हुने चर्चा गर्दै महिलाबाटै हुने हिंसालाई रोक्नु पनि जरुरी रहेको औँल्याए ।

हिंसा न्यूनीकरणका लागि कानून बनेपनि कार्यान्वयनमा जटिलता आउँदा समस्या आएको बताउँदै उनले महिला आफैँ यसमा जागरुक हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक किरण राणाले महिला हिंसालाई कम गर्न उजुरी दिने प्रचलन बढ्नु पर्नेमा जोड दिए । उनले वैदेशिक रोजगारीमा गएका पुरुषले पठाएका रकमको दुरुपयोग गर्दै महिलाबाट पनि पुरुष हिंसा बढ्दै गएको बताए ।

कार्यक्रममा महिला विकास कार्यालयकी प्रमुख नीला घिमिरेले महिला हिंसाका बारेमा वार्षिक प्रतिवेदन पेश गरिन् ।

नेपाल पत्रकार महासंघ, भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले गोष्ठी र सेमिनारले मात्रै महिला हिंसा न्यूनीकरण नहुनेमा जोड दिँदै महिलाका विषय तल्लोस्तरसम्म पुग्नुपर्नेमा जोड दिए । (रासस)

प्रतिक्रिया दिनुहोस्