२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘चैत र वैशाख महिनाको पुरा तलब देउ’


0
Shares

काठमाडौ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ले चैत र वैशाखको पुरा महिनाको तलब दिन सरकारसँग माग गरेको छ ।

विभिन्न बहानामा श्रमिक कटौती गर्न नपाउने भने पनि विभिन्न उद्योग, प्रतिष्ठान , होटेल, रेष्टुरेन्ट , यातायात र सरकारी स्वामित्वमा रहेका प्रतिष्ठानहरुमा समेत श्रमिक र तलब कटौती गरि मानसिक तनाव दिईरहेकोले त्यसतर्फ जेटियुसिसीले सरकारको ध्यानाकर्षण गराएको छ ।

श्रमिकको रोजगारी सुरक्षा र सरकारले श्रम तथा श्रमिक सम्बन्धी गरेका निर्णयहरु कार्यान्वयन गर्न माग गर्दै केन्द्रले बिहीवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई ज्ञापनपत्र बुझाएको छ ।

त्यसैगरी ज्ञापनपत्रमा कोरोना विरुद्धको लडाईमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी लगायत कर्मचारीहरुलाई निराश बनाउने अभिव्यक्ती बन्द गर्नु पर्ने, प्रतिष्ठानमा कार्यरत श्रमिक कर्मचारीलाई स्वास्थ्य सुरक्षाका सम्पुर्ण मापदण्ड अवलम्बन गर्नु पर्ने, स्थानीय तहमा श्रमिकको पन्जिकरण गरि परिपत्र दिई सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षामा आबद्ध गराउनु पर्ने, स्थानीय तहमा श्रम डेस्क स्थापना गरि श्रमिकको समस्या समाधान र राहत दिनु पर्ने माग गरेका छन् ।

वैदेशिक रोजगारीमा समस्यामा रहेका नेपालीहरुलाई सम्बधित रोजगारदाताकै खर्चमा स्वदेश उद्दार गर्न पहल गर्नु पर्ने,गन्तव्य सम्म पुग्ने र क्वारेन्टाइनका सम्पुर्ण खर्च सरकारले व्यहोर्नुपर्ने , स्वदेश फर्केकालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा जोड्नु पर्ने,स्थानीय तहमा ट्रेड युनियन सम्मेलित संरचना बनाई विदेशमा सिकेको सिपलाई स्थानीय तहले समन्वय गरि रोजगारी सृजना गर्नु पर्ने माग पनि केन्द्रले सरकारसँग राखेको छ ।