
पुनःनिर्माणका लागि गत पुस १३ गते गठन गरिएको विज्ञ समूहले माघ ७ गते प्रतिवेदन पेस गर्दै पोखरीभित्रको बालगोपालेश्वर मन्दिर ग्रन्थकुट शैलीमा निर्माण गर्न सल्लाह दिएको थियो ।
वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षति पुर्याएको रानीपोखरी भूकम्पले भत्कनुअघिजस्तै गरी निर्माण गरिने विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए ।
उनले भने–‘बालगोपालेश्र मन्दिर र समग्र रानीपोखरी नै भूकम्प पहिले जस्तो थियो, सोहीअनुरुप निर्माण गरिन्छ, न त काठमाडौं महानगरपलिकाले भनेजस्तो हुन्छ ।’
अबको चार महिनामा बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम सम्पन्न हुने बताइएको छ ।
सुरुमा रानीपोखरीसँगै मन्दिर महानगरपालिकाले बनाउने जिम्मा पाएको थियो । तर, कंक्रिट प्रयोग भएको भन्दै विरोध भएपछि मन्दिर विभाग आफैंले बनाउँदैछ । मन्दिर भूकम्पअघिको जस्तै ‘गुम्बज शैली’मा निर्माण भइरहेको छ ।
कामपाले भने पोखरी निर्माण गर्ने जिम्मा आफ्नो भएपनि विभागले अहिलेसम्म डिजाइन नदिएकाले काम अघि बढ्न नसकेको गुनासो गरेको छ ।
विज्ञ समूहको सुझावअनुसार पोखरी निर्माण गर्न भन्दै कामपाले विभागसँग डिजाइन मागेको छ ।
कामपाले बालगोपालेश्वर विभागले निर्माण गरेपनि पोखरीको बाहिरी भाग साजसज्जासहित आकर्षक तरिकाले आफूले निर्माण गर्ने जनाउँदै आएको छ ।
विभागले पोखरी निर्माणको जिम्मा कामपाकै भएपनि डिजाइनकाबारेमा तीव्र छलफल भइरहेको बताएको छ । डिजाइन भूकम्पअघिजस्तै हुने पनि विभागले स्पस्ट पारेको छ ।
विभागले विज्ञ समूहको प्रतिवेदन कार्यान्वयन गर्न नसकिने बताएको छ । बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण पुरातात्विक मर्मविपरीत भइरहेको भन्दै चौतर्फी विरोध भएपछि भूकम्पअघिजस्तै निर्माण गर्ने तयारी भएको हो ।
रानीपोखरी पुनःनिर्माणमा कंक्रिट प्रयोग भएको भन्दै विरोध भएपछि काठमाडौं महानगरपालिकाले विज्ञ समूह बनाएको थियो । समूहले मन्दिर समग्र पोखरी नै मल्लकालीन शैलीमा निर्माण गर्न सिफारिस गरेको थियो ।
विभागकै पूर्वमहानिर्देशक विष्णुराज कार्की नेतृत्वको विज्ञ समूहले मन्दिरलाई ग्रन्थकुट शैलीमा निर्माण गर्न सिफारिस गरेको थियो । मन्दिर पुनःनिर्माणका लागि विभागले रु एक करोड ५० लाखमा ठेक्का लगाएर काम गरिरहेको छ ।
करिब ४०० वर्ष पुरानो ऐतिहासिक महत्व बोकेको रानीपोखरी वि.सं. १७२५ देखि १७२७ सम्म दुई वर्ष लगाएर प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन निर्माण गराइएको इतिहासमा उल्लेख छ ।
पोखरीमा स्वदेश र विदेशका विभिन्न नदी, ताल र कुन्डबाट ल्याइएको पानी राखिएको थियो ।
पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उनका छोराहरुसहितको हात्तीको सेतो मूर्ति छ ।
पोखरीको चार कुनामा सोह्रहाते गणेश, सरस्वती, महालक्ष्मी र भैरव गरी चार मन्दिर छन् । ऐतिहासिक महत्वको ‘विष्णुतीर्थ’को पुनःनिर्माण अब छिट्टै हुने विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्