
बुटवल, फागुन २७ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् ।
आज दिउँसो १ बजे बस्ने प्रदेशसभाबाट उनले विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभामा वाम गठबन्धनको स्पष्ट बहुमत रहेकाले पोखरेलले सजिलै विश्वासको मत प्राप्त गर्नेछन् ।
यसैबीच पाँच नम्बर प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा तयार भएको छ । मस्यौदामा चार संसदीय समिति बनाउने प्रस्ताव गरिएको छ ।
मस्यौदा समितिका सदस्य भूमिश्वर ढकालले सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत साधन, विधायन तथा आन्तरिक मामिला र सामाजिक विकास समिति बनाउने निर्णय भएको जानकारी दिए ।
मस्यौदा समितिले सांसदको पोशाकसमेत निर्धारण गरेको छ । पुरुष सांसदले कोट र टोपी तथा महिला सांसदले सारी र कोट लगाउनुपर्ने प्रावधान राखिएको छ ।
कोट र सारीको रंग भने निर्धारण गरिएको छैन । रंग निर्धारण गर्ने जिम्मेवारी सभामुख र कार्यव्यवस्था समितिलाई दिइएको छ ।
मस्यौदामा प्रदेश संसद बैठकको गणपुरक संख्या एक चौथाई राखिएको छ । २१ जना सांसद उपस्थित भए बैठक सञ्चालन हुनेछ । मस्यौदा आज बस्ने बैठकमा टेवल गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्