१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


दाहालले भने– जनताले भाषण होइन, परिणाम खोजेका छन्


0
Shares

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले नेपालमा भाषण धेरै भएकाले सिधै ‘एक्सन’ चाहिएकाले सरकारले त्यसतर्फ लाग्ने विश्वास व्यक्त गरे ।

मुलुकमा विद्यमान सबै प्रकारको बेथिती, विकृति अन्त्य गर्न कदम चाल्ने विश्वास व्यक्त गर्दै उनले भने, ‘सुरक्षा निकाय, प्रशासन, न्यायलय सबैतिर विकृति छ । प्रधानमन्त्रीलाई यी विषयमा जानकारी छ भन्ने उहाँको भनाइबाट स्पष्ट भएको छ । यो पटक जनताले जसरी भरोसा गरेका छन् । त्यसलाई कामबाट पुष्टि गरियोस् भन्ने नेपाली जनताको अपेक्षा छ । सरकारले परिणाम देखाउन शुरु गरोस् ।’

इतिहासमै पहिलोपटक दुई तिहाइ बहुमतको सरकार बनेको र सरकारको हात बलियो रहेकाले भ्रष्टाचार नियन्त्रण गर्न दृढताका साथ कदम चाल्न उनले आग्रह पनि गरे ।

अध्यक्ष दाहालले भने, ‘नेपाली जनताले वर्तमान सरकारप्रति ठूलो भरोसा गरेका छन् । राज्यका सबै अंगमा हुने गरेको ढिलासुस्तीका विरुद्ध कदम चाल्ने भरोसा गरेका छन् । जनताको भरोसालाई सरकारले पूर्णरुपमा कार्यान्वयन गर्ने विश्वास लिएको छु ।’

प्रधानमन्त्रीले दिएको अभिव्यक्तिअनुसार सरकारले दृढताका साथ काम गर्नुपर्ने उल्लेख गर्दै उनले राजनीतिक स्थिरता र सुशासन दिने ऐतिहासिक अवसर प्राप्त भएकाले जनताका सामु गरेको प्रतिबद्धता पूरा गरेरै छाडिने दृढता व्यक्त गरे ।

धेरै अप्ठ्यारा दिनहरु पार गरेर राजनीतिक उपलब्धि प्राप्त भएको उल्लेख गर्दै उनले नेपाली जनताका सामु गरेको वाचा अब भाषणमा होइन, कार्यान्वयनमा खोजेको प्रष्ट पारे ।

शान्ति प्रक्रियाका धेरै काम पूरा भएको र केही बाँकी रहेकाले त्यसलाई पनि पूर्णरुपमा कार्यान्वयन गरेर जानुपर्ने उनले बताए ।

वर्तमान सरकार विगतको सरकारको निरन्तरता नभई नयाँ आधारमा स्थापना भएको सरकार भएकाले जनताका पक्षमा काम गर्नैपर्ने बाध्यता रहेको पनि उनले उल्लेख गरे । (रासस)