२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024


बेनी–भकुन्डेः ट्रयाक खुलेको ८ वर्षसम्म पनि ७ किमि दूरीको सडकले पूर्णता पाएन (भिडियो)


0
Shares

ध्रुवसागर शर्मा (इमेज)

म्याग्दी, असार १३ । म्याग्दीको बेनी नगरपालिकादेखि भकुन्डेसम्मको ७ किलोमिटर बाटोमा काम थालेको ८ वर्ष हुँदापनि सवारी चल्नसक्ने बनेको छैन ।

सामान्य मर्मत–सम्भार भएपनि दीगोरुपमा निर्माण नगर्दा वर्षाको भेलमा सधैं बाटो बिग्रने गरेको हो ।

वर्षेनि लाखौं बजेट खर्चिएपनि सडकको अवस्था सुधार नहुँदा स्थानीय भने आक्रोशित बनेका छन् ।

म्याग्दीको बेनी–भकुन्डे सडकखन्डको ट्रयाक ८ वर्षअघि नै खुलेपनि हालसम्म सम्पन्न हुन सकेको छैन । ७ किलोमिटर दूरी रहेको सडक मर्मत–सम्भारका लागि भन्दै लाखौं रुपैयाँ खर्च भइसकेको छ ।

तर, हालसम्म पनि यातायातका साधन चल्नसक्ने सडक बनेको छैन । यति लामो समयसम्म पनि यस्तो सामान्य कामले पूर्णता नपाएपछि धेरैलाई चित्त बुझेको छैन ।

सडकमा नाली निर्माण नगर्नाले र बेलाबेलामा डोजर घुमाएर बजेटसक्ने प्रवृत्तिप्रति धेरैको गुनासो छ ।

वि.सं. २०६७ सालयता बेनी–भकुन्डे सडकमा करिब ७० लाख रुपैयाँको हाराहारीमा बजेट खर्च भइसकेको छ ।

बजेट त सकियो तर सडकको अवस्था सुधार नभएपछि स्थानीयको पटक–पटक यही प्रश्न छ–‘सडकको अवस्था कहिले सुिध्रन्छ ?’

बाटोको गुणस्तर वृद्धि र स्थायित्वका लागि जनप्रतिनिधि र सरोकारवाला निकायको ध्यान नगएको तर बजेटसक्ने प्रवृत्ति हावी रहेको ज्यामिरकोटका स्थानीय कृष्णबहादुर सुवेदीको आरोप छ ।

चालू आर्थिक वर्षमा पनि करिब २६ लाख खर्चेर बाटो मर्मत त गरियो तर सामान्य पानी पर्दा पनि बाटो बिग्रने भएकाले अझैसम्म प्रयोग हुन सकेको छैन ।

वर्षौंदेखि बजेट पोखिँदै आएको छ । तर, बाटोको अवस्था उस्तै छ । बेनीदेखि भकुन्डे वडा कार्यालयसम्म जोड्ने मोटरबाटोसँगै अन्य दुई बाटोको अवस्था पनि फरक छैन ।

तीनओटै सडकका लागि छुट्टाछुट्टै समिति पनि छन् । समस्या एउटै छ । बाटोको अवस्था दयनीय रहनुमा जनप्रतिनिधि र समितिको चरम लापरबाही भएको पत्रकार राकेश शर्मा बताउँछन् ।

तर, मर्मत–सम्भारका लागि बजेट पर्याप्त नभएकाले राम्रोसँग मर्मत–सम्भार हुन नसकेको दाबी गर्छन्, बेनी नगरपालिका–२ भकुन्डेका समाजसेवी भीमबहादुर पौडेल ।

भिडियो हेर्नुहोस्