बुटवल, असार १३ । बजेट एकपक्षीय र असन्तुलित भएको भन्दै असन्तुष्टि जनाउँदै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको उपस्थितिबिनै प्रदेश नम्बर–५ को प्रदेशसभा बैठक चलाइएको छ ।
यसअघि, १ बजे बस्दै आएको बैठक बुधबार (आज) १२ बजे नै सुरु गरिएको हो । प्रतिपक्षीको बहिस्कारका बाबजुत् बैठक चलाइएको हो ।
कांग्रेसका प्रदेशसभा सदस्यहरुले छलफलकाक्रममा पनि आफूहरुलाई पछाडि राखेको भन्दै बहिस्कार गरेका हुन् ।
सत्तापक्षले भने कांग्रेसले भाग नलिएपनि प्रदेशसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी राखेको छ ।
बैठकको सुरुमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेशसभा सदस्यहरु भूमिश्वर ढकाल र दधिराम शर्माले प्रदेश सरकारले ल्याएको बजेट राम्रो र उत्कृष्ट भएको दाबी गरे ।
प्रमुख प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले भने सत्तापक्षले बहुमतको आडमा प्रतिपक्षी दललाई अवमूल्यन गरी प्रतिपक्षबिनै प्रदेशसभा बैठक चलाएर संसदीय अभ्यासको खिल्ली उडाएको आरोप लगाएका छन् ।
शर्माले प्रतिपक्षी दलले सबै जिल्ला र निर्वाचन क्षेत्रलाई समानुपातिक तरिकाले बजेट विनियोजन हुनुपर्ने माग राख्दा बेवास्ता र उपेक्षा गर्नुले सरकारको अधिनायकवादी चरित्र छर्लंग भएको आरोप लगाए ।
प्रदेशसभा बैठक चलिरहँदा कांग्रेसका सदस्यहरु भने अबको रणनीतिबारे छलफल गर्न बैठकमा छन् ।
सोमबारदेखि सुरु भएको विनियोजन विधेयकमाथिको छलफलमा सत्तापक्षकै एक दर्जन प्रदेशसभा सदस्यले बजेट समावेशी र सन्तुलित नभएको भन्दै आलोचना गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्