नारायणपुर, मंसिर १२ । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले यो वर्ष आधारभूत कानून निर्माण र आवधिक योजना निर्माणको कामलाई महत्वपूर्ण कामको रूपमा अगाडि बढाएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ दाङले आज बिहान घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले १५ वटा कानून पारित भइसकेको र त्यति नै मात्रामा नियम र कार्यविधि निर्माण भइरहेको बताउँदै अझै १५/२० वटा कानून निर्माणको चरणमा रहेको उल्लेख गरे ।
‘योजनाबिना समृद्धि सम्भव छैन, पञ्चवर्षीय योजना निर्माणका लागि अहिले जिल्लागत रूपमा छलफल भइरहेको छ,’ मुख्यमन्त्री पोखेरेलले भने, ‘यो काम पनि यो वर्षभित्रै सकिन्छ ।’
प्रदेशले व्यवस्थित रूपमा योजना बनाएर काम गर्ने उनले बताए ।
प्रदेश सरकार जनताको आकाङ्क्षापूर्तिको विश्वास केन्द्र बन्दै गइरहेको तर भौतिक पूर्वाधार र कर्मचारीको अभाव भने कायमै रहेको उनको भनाइ थियो । उनले दुई हजार ८०० कर्मचारी केन्द्रले व्यवस्था गर्नुपर्नेमा अहिलेसम्म ७०० कर्मचारी पूर्ति भएको जानकारी दिए ।
निजी क्षेत्रमा काम गर्ने निकायलाई सुरक्षाको प्रत्याभूति दिने गरी अगाडि ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले नेपालीमा एउटा युगको शुरुआत गरेको मुख्यमन्त्री पोखरेलले बताए । (रासस)








प्रतिक्रिया दिनुहोस्