
दैलेख, मंसिर १२ । सुर्खेतबाट दैलेखको ठाटीकाँढ गाउँपालिका–३ बहाँकोटतर्फ जाँदै गरेको भे१च २२०७ नम्बरको जिप दैलेखको ठाटीकाँढ गाउँपालिका धामी गाउँमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
दुर्घटनामा दुई जनाको घटनास्थलमा, दुई जनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा र अन्य दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा ठाटीकाँढ गाउँपालिका–३ का ४८ बर्षीय राजबहादुर शाही, सोही स्थानका चालक रमेश शाही, ठाटीकाँढ–१ का ३० बर्षीय निर्मल बम र ठाटीकाँढ–४ का रत्ना शाही छन् ।
यस्तै ठाटीकाँढ गाउँपालिका–१ का शम्शेर पुन र ठाटीकाँढ गाउँपालिका–३ का २६ बर्षीय दिलिप शाहीको उपचारको क्रममा दुल्लु अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते अन्य दुईजनाको अवस्था पनि गम्भीर रहेको छ । उनिहरुको दुल्लु अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
दुर्घटनालगत्तै प्रहरी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा घाइतेको उद्धार भएको थियो । बिहान ८ बजे ब्रेक फेल भएर दुर्घटना भएको बताइए पनि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्