१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाः ओलीसँगै जेलमा थिए, तोकिएको थियो टाउकाको मूल्य


0
Shares

राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित भएपछि संघीय संसद भवन नयाँबानेश्वरमा सन्चारकर्मीलाई पहिलो प्रतिक्रिया दिँदै उनले लोकतन्त्रमा सानो–ठूलो कोही पनि नहुने भएकाले सबैको भूमिका महत्वपूर्ण हुने बताए ।

अध्यक्ष तिमिल्सिनाले भने–‘लोकतन्त्रमा सानो–ठूलोले केही गर्दैन, प्रतिपक्ष भनेको प्रतिपक्ष नै हो, त्यसलाई सम्मान गर्नुपर्छ, उहाँहरु पनि बराबरी नै हो, संख्या कति छ भन्ने कुराले कुनै अर्थ राख्दैन ।’

एकलौटी तवरले अगाडि बढ्छ कि भनेर कोही–कसैले चिन्ता नगर्न आग्रह गर्दै उनले लोकतन्त्र बचाउन र राष्ट्रियसभाको गरिमा बचाउँदै यसको मूल्य र मान्यताको रक्षाका लागि आफूहरुले भरपूर प्रयास गर्ने स्पस्ट पारे ।

अध्यक्ष तिमिल्सिनाले संविधान निर्माणपछि पहिलोपटक राष्ट्रियसभाको गठन भएको भन्दै ‘आफूहरुको ध्यान कानुन निर्माणमा रहनेछ’–भने ।

बहुदलीय व्यवस्थाको स्थापनापछि नै संसद दुई सदनात्मक भएपनि हाल त्यो पुरानो भयो कि वा विस्मृतिमा गयो कि भन्ने लाग्नसक्ने भएपनि माथिल्लो सदनको गरिमालाई जोगाएर राष्ट्रियसभाले काम गर्ने उनले बताए ।

अध्यक्ष तिमिल्सिनाले नयाँ संविधानले दुई सदनात्मक व्यवस्था बनाएका कारण राष्ट्रियसभा पनि संघीय संसदको एउटा हिस्साकोरुपमा रहेको उल्लेख गर्दै ‘यस सदनलाई भरपूर तवरले साझा बनाउने प्रयास आफ्नो रहनेछ’–भने ।

राष्ट्रियसभालाई सार्थक परिणाममा पुर्‍याउनका लागि सबैको साझा प्रयत्न जरुरी रहेको बताउँदै उनले त्रुटि र कमजोरीरहित तवरले विधि निर्माण गरेर जानु आवश्यक रहेको विचार व्यक्त गरे ।

अध्यक्ष तिमिल्सिनाले भने–‘सरकारलाई घच्घच्याउने र सहयोग गर्ने आफ्नो कार्यभार हुन जान्छ, हामीले धेरै कानुन निर्माण गर्नु जरुरी छ, ती कानुन निर्माणका लागि काम गर्नु जरुरी छ, त्यसमा हाम्रो पहिलो ध्यान जान्छ ।’

‘सबैले सकारात्मक सोच्ने र सोहीअनुसारको व्यवहार गरेर सफलता हात पार्नसकिन्छ’–उनले भने–‘हामी सबैले सकारात्मक सोचौं, हरेक विषयलाई नकारात्मक तवरलेमात्रै हेरियो भने त्यसले राम्रो गर्दैन, शंका र आशंकाले होइन, सकारात्मक सोचका साथ काम गरौं, सफल भइन्छ ।’

वाम गठबन्धनका साझा उम्मेदवार तिमिल्सिना राष्ट्रियसभा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी नेकपा एमाले र नेकपा माओवादी केन्द्रको साझा उम्मेदवार थिए ।

यस्तो छ अध्यक्ष तिमिल्सिनाको राजनीतिक यात्रा
पर्वतको मोदी गाउँपालिकाका स्थायी बासिन्दा तिमिल्सिना एमालेका पोलिटब्यूरो सदस्य एवं प्रदेश नम्बर–४ का सहसंयोजक हुन् ।

पोखराको पृथ्वीनारायण क्याम्पसमा प्रवीणता तहमा अध्ययन गर्दैगर्दा वि.सं. २०३६ मा विद्यार्थी राजनीतिमा होमिएका तिमिल्सिना पर्वतको मोदी गाउँपालिका–७ मा वि.सं. २०१८ जेठ १२ गते जन्मिएका हुन् ।

गाउँकै पशुपति उच्च माविबाट एसएलसीसम्मको अध्ययन पूरा गरेका तिमिल्सिना विद्यार्थी जीवनदैखि नै प्रगतिवादी सोचका साथ वि.सं. २०३६ मा नेकपा मालेको रेडगार्डको सचिवसमेत भएका थिए ।

वि.सं. २०३७ मा अनेरास्ववियुको क्षेत्रीय सम्मेलनबाट पश्चिमाञ्चल क्षेत्रीय समितिको सदस्यमा निर्वाचित तिमिल्सिनाले वि.सं. २०४० मा तत्कालीन मालेको सदस्यता प्राप्त गरेका थिए ।

पार्टी राजनीतिको सुरुआतसँगै सक्रिय राजनीतिमा आएका तिमिल्सिना वि.सं. २०४१ मा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सचिव र वि.सं. २०४२ मा अनेरास्ववियुको आठौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको सदस्य भए ।

तत्कालीन सरकारविरुद्ध विद्रोहको उद्घोष गर्दै वि.सं. २०४२ को बमकान्डपछि तिमिल्सिनाले चार वर्ष जेल जीवन बिताए ।

तत्कालीन सरकारले वि.सं. २०४२ देखि ०४६ सम्म लगातार चार वर्ष तिमिल्सिनालाई पोखरा, भैरहवा, तौलिहवा, वीरगन्ज, भद्रगोल जेल र नख्खु जेलमा राखेको थियो ।

उनीसँगै जेलमा कम्युनिष्ट नेता केपी शर्मा ओली र हितकाजी गुरुङ रहेका थिए । ओली अहिले देशको प्रधानमन्त्री र एमाले अध्यक्षको जिम्मेवारीमा रहेका छन् ।

वि.सं. २०४६ मा जेलबाट छुटेका उनी प्रजातन्त्र बहालीको आन्दोलनमा पुनः सक्रिय रहे । वि.सं. २०४६ को जनआन्दोलनमा संयन्त्र सदस्य बनेका उनी पुनः पञ्चको निशानामा परे ।

उनलाई तत्कालीन सरकारले पक्राउ गरी ल्याउन टाउकाको मूल्य रु ५० हजार तोकेको थियो ।

अर्धभूमिगत अवस्थामा प्रजातन्त्रको पक्षमा आन्दोलनमा सहभागी उनी वि.सं. २०४७ मा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य भए । दोस्रो बैठकबाट केन्द्रीय आयोजक समिति सदस्य बनेका तिमिल्सिना केन्द्रीय सदस्य हुँदा प्रधानमन्त्री ओली सोही कमिटीका अध्यक्ष थिए ।

वि.सं. २०४७ मा माले मुस्ताङका सचिव, ०४८ मा नेकपा एमाले बागलुङका सचिव, वि.सं. २०५४ मा नेपालगन्जमा सम्पन्न एमालेको छैटौं महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित हुँदै धौलागिरि अञ्चल इन्चार्जको जिम्मेवारीसमेत उनले सम्हालिसकेका छन् ।

वि.सं. २०५९ मा जनकपुरमा सम्पन्न एमालेको सातौं महाधिवेशनपछि केन्द्रीय सल्लाहकार समिति सदस्य र वि.सं. २०६५ मा बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका तिमिल्सिना पर्वत जिल्ला संयोजककारुपमा पार्टीको जिम्मेवारी सम्हालिसकेका छन् । उनी पर्वत जिल्लाको पूर्वजिविस सभापति पनि भइसकेका छन् ।

काठमाडौंमा भएको नवौं महाधिवेशनपछि पुनः केन्द्रीय सदस्य हुँदै अहिले उनी एमालेको पोलिटब्यूरो सदस्यको जिम्मेवारीमा रहेका छन् ।

यही फागुन २८ गते राष्ट्रियसभाको अध्यक्षका लागि उनकोमात्रै उम्मेदवारी परेको थियो ।

राष्ट्रियसभाको बुधबारको बैठकले उनलाई अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो ।

राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले तिमिल्सिना अध्यक्ष पदमा निर्वाचित भएको घोषणा गरेकी थिइन् ।

तिमिल्सिनाको प्रस्तावकमा एमालेकै खिमलाल भट्टराई र समर्थकमा नेकपा माओवादी केन्द्रका दिनानाथ शर्मा तथा एमालेकै सुमनराज प्याकुरेल थिए ।