
हिमाल पौडेल/नवीन स्थापित (इमेज)
काठमाडौं, मंसिर ११ । सरकारले सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई सबै क्षेत्रले स्वागत गरेका छन् ।
रोजगारदाताहरुले भने स्वागतका साथै कार्यान्वयन चुनौतीपूर्ण रहेको भन्दै सरकारलाई सजगसमेत गराएका छन् ।
कार्यक्रमको स्वागतसहित कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता जनाएतापनि रोजगारदाताहरुले सफल कार्यान्वयनसँगै कोषमा रहने रकमको सुरक्षाप्रति चासो देखाएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सामाजिक सुरक्षा कार्यक्रममार्फत् सामाजिक रुपान्तरण प्रारम्भ भएको भन्दै कोष सन्चालनमा विशेष ध्यान दिन सुझाव दिइन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले आगामी १० वर्षमा सामाजिक सुरक्षा कोष नेपालको सबैभन्दा ठूलो रकम भएको संस्था हुने भन्दै यसको सदुपयोगमा सचेत हुनुपर्ने बताए ।
रोजगारदाता परिषदका अध्यक्ष एवं उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले कोषमा श्रमिक, रोजगारदाताको तथ्यांक रहने भन्दै यसको सुरक्षाप्रति गम्भीर बन्नुपर्ने बताए ।
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रको योगदानमा बन्ने सबैभन्दा ठूलो कोष बन्ने भन्दै कोषको कुशल व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै सचेत गराए ।
ट्रेड युनियनले पनि कोषको प्रभावकारी अनुगमन हुनुपर्नेमा जोड दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने सामाजिक सुरक्षा कोष दुरुपयोग नहुने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कोषमा १९ अर्ब ३३ करोड रुपैयाँ रकम जम्मा भइसकेको छ भने आगामी दिनमा देशकै सबैभन्दा ठूलो कोष हुने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्