Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


विमान दुर्घटना दुःखद र गम्भीर घटना : प्रधानमन्त्री, विशेष प्रस्ताव पारित


0
Shares

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै प्रधानमन्त्री ओलीले उक्त अकल्पनीय र त्रासदीपूर्ण घटनामा परी मृत्यु हुनेहरुमा श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

उक्त दुर्घटनाका कारण भएको मानवीय क्षतिबाट नेपाल, बंगलादेश र चीन शोकसन्तप्त भएको बताउँदै उनले उद्धार र उपचारमा संलग्नहरुलाई धन्यवाद व्यक्त गरे ।

सो दुर्घटनामा ५१ जनाको निधन र २० जना घाइते भएका छन् ।

प्रधानमन्त्री ओलीले घटनालगत्तै आफू स्थलगत अवलोकनमा गएको तथा बंगलादेशका प्रधानमन्त्रीसँग टेलिफोन गरी उद्धार र उपचारमा कुनै कमजोरी नहुनेमा आश्वस्त पारेको उल्लेख गर्दै ‘घटनाबारे सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न मन्त्रिपरिषदले जाचँबुझ आयोग गठन गरेको र सो आयोगबाट प्राप्त प्रतिवेदनपछि गर्नुपर्ने आवश्यक काम गरिनेछ’–भने ।

प्रयोगशालाको परीक्षण छिटो गरी आफन्तलाई छिटो शव हस्तान्तरण गर्न सरकार क्रियाशील रहेको पनि उनले स्पस्ट पारे ।

विशेष प्रस्ताव पारित
प्रधानमन्त्री ओलीको वक्तव्यपछि बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत् गरेको गत फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशको ढाकाबाट काठमाडौं आएको युएस बंगला एअर अवतरणकाक्रममा दुर्घटना भइ आगोलागी हुँदा २२ जना नेपाली, चालकदलका सदस्यसहित २८ जना बंगलादेशी र एकजना चिनियाँ नागरिकसहित ५१ जना यात्रीको निधन तथा २० जना घाइते भइ उपचाररत् भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्ने विशेष प्रस्ताव पारित भयो ।

प्रस्तावमा निधन भएकाहरुको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

बैठकमा दुर्घटनामा परी निधन भएकाहरुको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो ।

प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन शुक्रबारै १५ मिनेटपछि बस्ने बैठकमा हुनेछ । रासस