Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


नेपाल र चीन जोड्ने लेन्दे खोलामाथिको मितेरी पुलको पुनर्निर्माण सुरु


0
Shares

काठमाडौं । नेपाल र चीन जोड्ने रसुवागढीस्थित लेन्दे खोलामाथिको मितेरी पुलको पुनर्निर्माण सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको सम्झौताअनुसार चीन सरकारको सहयोगमा मितेरी पुलको पुनर्निर्माण सुरु गरिएको हो ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पले पुलमा क्षति भएपछि बेली ब्रिज राखेर यातायात सञ्चालन हुँदै आएको थियो ।

१ सय १४ मिटर लम्बाई तथा ९ दशमलब ५ मिटर चौडाई रहेको दुई लेनको पुल हाल सञ्चालनमा रहेको पुलभन्दा ५ मिटर उत्तर पूर्वमा निर्माण गर्न लागिएको हो ।

पुल निर्माणका क्रममा सहजीकरणका लागि दुई देशका अधिकारीबीच छलफलसमेत सम्पन्न भइसकेको छ ।

निर्माणका क्रममा चिनियाँ कामदारको आवास, पास, कंक्रिट मेसिनका लागि आवश्यक स्थान, पुल निर्माणमा आवश्यक माटो तथा ढुंगा र नेपालतर्फबाट निर्माण सामग्री खरिद गरि ल्याउनुपर्ने भएमा नेपाल सरकारले सहजीकरण गरिदिने ब्यवस्था मिलाइएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए ।

निर्माण सुरु गरिएको पुल चिनियाँ ठेकेदारले सन् २०१९ को मेभित्र सम्पन्न हुने बताइएको छ ।  

Skip This