६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


आगोलागीमा मृत्यु भएका चारैजनाको शव एउटै खाटमा


0
Shares

भद्रपुर, मंसिर १० । झापाको शिवसताक्षी नगरपालिका–७, लालझोडामा आइतबार राति भएको आगोलागीमा मृत्यु भएका चारैजनाको शवको अवशेष एउटै खाटमा फेलापरेको छ ।

सोमबार बिहान शवको अवशेष संकलन गरेर प्रहरीले शव परीक्षणका लागि मेची अञ्चल अस्पताल पुर्‍याएको छ ।

आइतबार राति लक्ष्मण खनालको घरमा आगोलागी हुँदा परिवारका सबै चारजना ३५ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, चार वर्षीया चन्द्रा (सुप्रिया) खनाल र चारमहिने शिशु टीकाराम खनालको सुतेको अवस्थामै जलेर मृत्यु भएको थियो ।

सोमबार बिहान चारैजनाको जलेको शवको अवशेष संकलन गरेर भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा शव परीक्षणका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता नायव प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

झापा क्षेत्र नम्बर–४ का संघीय सांसद एलपी साँवा, प्रदेश सांसद झलकसिंह दर्लामी, नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, प्रहरी उपरीक्षक भीमप्रसाद ढकाल, सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थाम्सुहाङलगायतको सरकारी टोली सोमबार बिहान घटनास्थल पुगेको थियो ।

घटनास्थलमा भेटिएका संघीय सांसद साँवाले घटनाबाट आफू स्तब्ध भएको बताए ।

प्रदेश सांसद झलकसिंह दर्लामीले राति एक्कासि घरमा चारैतिरबाट आगो फैलिएपछि छिमेकीले थाहा पाएको र गौरादहबाट आएको दमकलले आगो निभाएपछिमात्र एउटै खाटमा चारजनाको शवको अवशेष भेटिएको जानकारी दिए ।

खाना खाएर सुतिसकेपछि घरमा एक्कासि आगोलागी भएको र आगोलागीमा खाना पकाउने एलपी ग्यासको सिलिन्डर विस्फोट भएको स्थानीय दुर्गा नेम्वाङले बताए ।

स्थानीयवासीले राति नै प्रहरी र दमकललाई खबर गरेका थिए । गौरादहबाट १५ मिनटभित्रै आएको दमकलले आगो नियन्त्रण गरेको थियो ।

उनकाअनुसार घरमूली लक्ष्मण खनाल राति ९ बजेसम्म खेतमा ट्र्याक्टर जोतेर घर आएको र खाना खाएर परिवारसँगै सुतेको अवस्थामा आगोलागी भएको थियो ।

मृतक खनाल आफ्नै ट्र्याक्टर चलाउँथे । घरअगाडि धान दाउनी गर्ने थ्रेसर मेसिन राखिएको थियो । आगोलागीमा घर पूरै जलेको छ भने थ्रेसर आंशिकरूपमा जलेको छ ।

प्रहरीले घरका सबै सदस्यको मृत्यु भएको र छिमेकीले आगो फैलिइसकेपछिमात्र थाहा पाएको हुँदा आगोलागी कसरी भयो भन्ने तत्काल थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रेष्ठले बताए । उनले घटनाको अनुसन्धान भइरहेकोसमेत बताए ।

आगोलागीमा विस्फोट भएको ग्यास सिलिन्डरको टुक्रा उछिट्टिएर छिमेकी ३७ वर्षीया गीता ढुंगे सख्त घाइते भएकी छन् । उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको बताइएको छ । रासस