Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


अर्जेन्टाइनी क्लबहरु रिभर प्लेट र बोका जुनियर्सबीचको खेल पुनः स्थगित


0
Shares

काठमाडौं, मंसिर १० । अर्जेन्टाइनी फुटबल क्लबहरु रिभर प्लेट र बोका जुनियर्सबीचको खेल पुनः स्थगित भएको छ ।

दक्षिण अफ्रिकी क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता कोपा लिबरटोडोरेसको फाइनलमा पुगेका दुई अर्जेन्टाइनी प्रतिद्वन्द्वीबीचको भिडन्त सुरक्षाका कारण स्थगित गरिएको हो ।

अर्जेन्टाइनी फुटबलका सबैभन्दा ठूला दुई ‘शत्रु’ क्लबहरु रिभर प्लेट र बोका जुनियर्सबीच गत शनिबार रिभर प्लेटको मैदानमा दोस्रो लेगको खेल हुने तालिका थियो ।

तर, बोका जुनियर्सका खेलाडी चडेको बस रंगशालातर्फ जाँदैगर्दा रिभर प्लेटका समर्थकहरुले आक्रमण गरेपछि उक्त खेल २४ घन्टापछि सारिएको थियो ।

आइतबारको खेलपूर्व बोका जुनियर्स क्लबले खेल तत्कालका लागि स्थगित गर्दै तटस्थ मैदानमा आयोजना गर्न लिखित उजुरी दिएपछि दक्षिण अमेरिकी फुटबल महासंघले खेल स्थगित गरेको हो ।

अबको खेल कहिले हुन्छ भन्ने यकिन गरिएको छैन ।

बोका जुनियर्सको मैदानमा भएको पहिलो लेगको खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।

प्रतियोगिताको ५८ वर्षे इतिहासमा यी दुई अर्जेन्टाइनी टोलीहरु उपाधिका लागि भिड्न लागेको यो पहिलो अवसर हो ।

बोका जुनियर्स र रिभर प्लेट अर्जेन्टाइनी राजधानी ब्युनस आयर्सका दुई छिमेकी क्लबहरु हुन् । यी दुई क्लबहरुको रंगशालाको दूरी १५ किलोमिटरमात्रै रहेको छ ।