८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024


संसद अधिवेशन तत्काल बोलाउन सत्तारुढ दलकै सांसदहरुको माग


0
Shares

काठमाडौं । सांसदहरुको मुख्य काम भनेको सरकारलाई जनताप्रति उत्तरदायी बनाउनु हो 

तर संघीय संसदको अधिवेशन नडाक्दा सांसदहरु कामविहिन जस्तै बनेका छन् ।  सत्तारुढ दलकै सांसदहरु अधिवेशन आह्वानका लागि माग गरिरहेका छन् ।

संसद त्यस्तो थलो हो, जहाँ जनताका दुःख मर्काका कुरादेखि सुशासन र विकासका बारेमा जनप्रतिनिधिले बोल्ने गर्दछन् ।

अझ अहिले त संसद नियमावलीले प्रधानमन्त्री र मन्त्रीहरुसंग सांसदहरुले प्रश्नोत्तर गर्न पाउने व्यवस्था गरेको छ ।

जसले जनप्रतिनिधिको सर्वोच्च संस्था संसदप्रति सरकारलाई जवाफदेही बनाउन बाध्य पार्ने विश्वास गरिएको छ ।

संघीय संसद अधिवेशन अत्य भएको दुई महिनासम्म पनि अर्को अधिवेशन आह्वान नहुँदा जनप्रतिनिधिले जनसरोकारका विषयबारे आफ्ना कुरा भन्न पाइरहेका छैनन् । 

संघीय संसद नचलेका कारण अहिले सांसदहरुले आफ्ना कुरा औपचारिक रुपमा रेकर्ड गराउन पाइरहेका छैनन् ।

चाडबाड मान्न आ–आफ्ना क्षेत्र गएका सांसदहरु काठमाडौं फर्किसकेका छन् । अहिले सबै सांसदहरु संसद बैठकको प्रतिक्षामा छन् ।

नवलपुरबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सांसद तिलक महत जनताको दुःखमर्का सरकारलाई सुनाउनका लागि पनि तत्काल संसद अधिवेशन आह्वान गर्नुपर्ने बताउँछन् ।

सत्तारुढ दल नेकपाकै कैलालीका सांसद झपटबहादुर रावल पनि तत्काल संसद बैठक बोलाउन माग गर्छन् ।

सत्तारुढ दलबाटै अधिवेशन आह्वानको माग भइरहेका बेला विपक्षी नेपाली कांग्रेसले त नगर्ने कुरै भएन ।

कांग्रेसले  संसद अधिवेशन आह्वान गर्न ढिलाई गरेर सरकारले आफ्ना अनियमितता ढाकछोप गर्न खोजेको आरोप लगाएको छ ।

कांग्रेस राष्ट्रियसभा संसदीय दलका सचेतक सरिता प्रसाईं वाइडवडी विमान, चिनिको घोटला र निर्मला पन्तको न्यायका बारेमा संसदमा बोल्नुपर्ने अवस्था भएको भन्दै तत्काल संसद अधिवेशन बोलाउन माग गर्छिन् ।

संसद अधिवेशन नचल्दा सांसदले बोल्न नपाएका मात्र होइनन् । थुप्रै कानुन निर्माणको काम समेत अघि बढ्न सकेको छैन ।