लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडामास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको मुख्य सुरुङ निर्माण सकिएको छ ।
आयोजनाको ३ दशमलब ८४ किलोमिटर लामो सुरुङ खन्ने काम पुरा भएको हो ।
न्यादी हाइड्रोपावर कम्पनीका प्रोजेट म्यानेजर उत्तम अमात्यले मुख्य सुरुङ छेडिएसँगै आयोजनाको ५० प्रतिशत काम सकिएको बताए ।
आयोजनामा सुरुङसहित ७ सय २५ मिटर पेनस्टक पाइप राखिने छ ।
अडिट टनेलहरु खन्ने कार्य अन्तिम चरणमा पुगेको र बाँध क्षेत्रको सिभिल संरचना निर्माणको २० प्रतिशत काम सकिएको जनाइएको छ ।
आगामी वर्षा सुरु हुनुअघि बाँध क्षेत्रको संरचना र विद्युतगृहको काम सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ । अब १७ महिनामा विद्युत उत्पादन गर्ने तालिका रहेको छ ।
३० मेगावाटको आयोजना सम्पन्न गर्न ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाईमा ५ बैंकले ऋण लगानी गरेका छन् ।
आयोजना पूरा भएपछि उत्पादन हुने विद्युत २२० केभी मस्र्याङ्दी कोरिडोर प्रसारण लाईनको खुदी सबस्टेसनमा लगेर जोडिनेछ ।
निर्माणधीन प्रसारण लाइन विद्युत उत्पादन सुरु हुने अवधिभित्र तयार नभए आयोजनाबाट उत्पादित विद्युत टारिकुना सबस्टेसनमा जोड्ने कम्पनीको योजना छ
आयोजनाको निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनी लि.ले गरेको छ ।
नदीको वहावमा आधारित यो आयोजनाबाट वार्षिक १ सय ६८ गिगावाट आवर विद्युत उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरिनेछ ।
आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग प्रचलित ‘पोष्टेड’ दर अनुसार वर्षायाममा ४ रुपैयाँ ८० पैसा र सुक्खायामका लागि ८ रुपैयाँ ४० पैसामा विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ ।
उक्त दर वार्षिक ३ प्रतिशतका दरले सामान्य वृद्धि भइ आठ वर्षसम्म र सम्झौताको अवधी ३० वर्षसम्म कायम रहने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्