
काठमाडौं, मंसिर ९ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बुबा यज्ञराज पन्तको मानसिक स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उपचारका लागि काठमाडौं ल्याइएको छ ।
बेहोस बनाएर धनगढीबाट सडकमार्ग हुँदै काठमाडौं ल्याइएका उनलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
यज्ञराजको खुट्टामा घाउ नै घाउ छ । उपचारका लागि काठमाडौं ल्याउने क्रममा गाडीको शिशामा हान्दा उनको खुट्टामा चोट लागेको जनाइएको छ ।
छोरीका हत्यारालाई पक्राउ गरी कारबाहीको माग गर्दै धर्नामा बस्ने क्रममा असामान्य व्यहार देखाएपछि उनको उपचार अघि बढाईएको हो । मानसिक असन्तुलन देखिएपछि सेती अञ्चल अस्पतालमा बेहोस बनाएर पन्तलाई काठमाडौं ल्याइएको हो ।
यज्ञराजलाई यसअघि बुद्ध एयरको विमानबाट काठमाडौं ल्याउने तयारी गरिएको थियो । तर विमानस्थलमा पुगेपछि बर्बराउने, मनपरी बोल्ने र असामान्य व्यवहार देखाउँदै हिँड्न थालेपछि सुरक्षाका कारण उनलाई विमान कम्पनीले ल्याउन मानेको थिएन ।
प्रतिक्रिया दिनुहोस्