दीपक घिमिरे
भैरहवा, मंसिर ९ । राज्यले उद्योगमैत्री नीति बनाउनुपर्नेमा उद्योगी व्यवसायीहरुले जोड दिएका छन् ।
उनीहरुले देशमा राजनीतिक स्थिरता कायम भए पनि औद्योगिक क्षेत्रको विकास हुन नसकेको भन्दै यसका लागि जोड दिएका हुन् । उद्योग दिवस–२०७५ को अवसरमा घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको आयोजना तथा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको व्यवस्थापनमा भैरहवामा भएको अन्तरक्रियाका अवसरमा उक्त जोड दिइएको हो ।
सहभागीहरुले उद्योगमैत्री वातावरण सिर्जना भएमात्र देश समृद्ध बन्न सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले विगतका कुशासन छोडेर अघि बढेमात्र मुलुकले अग्रगति लिने बताए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले कर तिर्नुपर्ने बाहेक अन्य विषयमा पनि छलफल हुनुपर्ने बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले उद्योगमा काम गर्ने श्रमिक बाहिरबाट ल्याउनुपर्ने अवस्था रहेको भन्दै औद्योगिक विकासका लागि राज्यले नीजि क्षेत्रसँग समन्वय गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।









प्रतिक्रिया दिनुहोस्