
काठमाडौंबाट यात्री लिएर तारा एअरको विमान पहिलोपटक शुक्रबार मध्याह्न साढे १२ बजे बलेवा विमानस्थलमा अवतरण गरेको हो ।
बागलुङ नगरपालिका र नेपाल नागरिक उड्ययन प्राधिकरणबीचको सम्झौताअनुसार सातामा दुईओटा उडान गर्नेगरी नियमित उडान सुचारु गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
सातामा दुई दिन नेपाल एअरलाइन्स र तारा एअरले पालैपालो उडान भर्ने सहमति भएको छ ।
गत सोमबार परीक्षण उडान सफल भएपछि शुक्रबारदेखि नियमित उडान थालिएको कार्यालयले जनाएको छ ।
१२ सिटभन्दा कम यात्री भएमा नगरपालिकाले सिट बराबरको रकम बहन गर्नेपनि प्राधिकरण र विमान कम्पनीहरुबीच सहमति भएको थियो ।
नगरपालिकाले बलेवामा कार्यालय सन्चालनका लागि निःशुल्क जग्गा उपलब्ध गराउने सम्झौता छ ।
नियमित उडान भएमा प्राधिकरणले आगामी वर्ष १५ करोड रुपैयाँ लगानी गरेर मैदानलाई कालोपत्रे गर्ने आश्वासन दिएको छ । मैदानबाहेकका पूर्वाधारका लागि चाहिने जग्गा भने नगरपालिकाले उपलब्ध गराउनेछ ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि बलेवाको उडान ४५ मिनेटको हुन्छ ।
वि.सं. २०१८ सालमा बनेको मैदानमा २०४८ सालसम्म नियमित विमान चलेपनि पोखरा–बागलुङ सडकमार्ग बनेपछि यो विमानस्थल बन्द भएको थियो ।
प्रतिक्रिया दिनुहोस्