
कपिलवस्तुको शिवराज–कृष्णनगर क्षेत्रमा उद्योग स्थापनाले तीव्रता पाउँदै गएको हो ।
विगतका बर्षहरुमा स्थापना भएका उद्योगहरुको तुलनामा विगत २ बर्षमा मात्रै अर्बाैको लगानीमा उद्योग खुल्न थालेपछि यो क्षेत्र अहिले सबै लगानीकर्ताहरुको रोजाईको क्षेत्र बनेको शुभ-लक्ष्मी सीमेन्ट उद्योगका प्रबन्धक भूपती न्यौपाने बताउँछन् ।
समग्र ढंगबाट राम्रो मानिएको यस क्षेत्रमा अहिले ठूलो लगानीका ७ वटा उद्योग संचालनमा आउँदैछन् ।
शिवराज नगरपालिका ६ वीरपुरमा ५ नयाँ सिमेन्ट उद्योग स्थापना भएका छन् ।
स्थानीय व्यवसायीको लगानीमा एउटा स्टील उद्योग र अर्को खाद्य उद्योग निर्माण भइरहेको सम्वृद्धि फुड प्रोडक्ट प्रालिका प्रबन्धक श्रीधर शर्मा बताउँछन् ।
सो क्षेत्रमा बालाजी सीमेन्ट उद्योग, शुभ–लक्ष्मी सीमेन्ट उद्योग र अटल सीमेन्ट उद्योग निर्माणको चरणमा छन् ।
नयाँ प्रविधि र व्यवस्थापनका साथ भूगर्भ सीमेन्ट र हालै निर्माण सम्पन्न महाशक्ति सीमेन्ट उद्योग संचालनमा आइसकेका छन् ।
सस्तो जग्गा, पर्याप्त जनशक्ति, कच्चा पर्दाथ आयातका लागि नजिक सीमाना र विक्रीका लागि राजमार्ग संग निकटतम भएकै कारण यहाँ उद्योग स्थापना गर्न लगानीकर्ताहरुले इच्छा देखाउने गरेको कपिलवस्तु व्यापार संघका अध्यक्ष महादेव पोख्रेल बताउँछन् ।
यस अघि नै यो क्षेत्रमा विजया सीमेन्ट, विश्वकर्मा सीमेन्ट, गणपती सीमेन्ट, बुद्ध सीमेन्ट उद्योगका साथै ७ वटा प्लाईउड उद्योग स्थापित छन् । अन्य सानाठूला गरि ३० भन्दा बढि उद्योग संचालनमा रहेका छन ।
विस्तारै औद्योगिक क्षेत्रको रुपमा विकसित यहाँ उद्योग स्थापना र संचालनमा अन्य क्षेत्रको तुलनामा सहज रहेको उद्योगीहरु बताउँछन ।
शिवराज क्षेत्रमा संचालित उद्योगहरुमा मात्रै अहिले २ हजार बढि मजदुर कार्यरत छन् भने नयाँ बन्ने उद्योगमा ५ सयले रोजगारी पाउने कपिलवस्तु व्यापार संघको दाबी छ ।
उद्योग स्थापनाको बातावरण बनाउन नगरपालिकाले आवश्यक पहल गर्ने शिवराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल बताउँछन् ।
थप उद्योग स्थापनाका लागि नगरपालिकाले केन्द्र सरकारको पहलमा औद्योगिक सुरक्षा बल स्थापना गर्नुपर्ने, ५ करोडमाथि लगानीका उद्योगलाई ३ बर्षसम्म स्थानीय कर मिनाह गर्नुपर्ने, चन्द्रौटा–कृष्णनगर सडक विस्तार गरी ४ लेनको बनाउनुपर्ने, बाइपास रोड निर्माण र कृष्णनगरमा सुख्खा बन्दरगाहको लागि आवश्यक कार्यको पहल गर्न व्यवसायीहरुले सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्