
जिल्ला पशुसेवा कार्यालय दाङकाअनुसार जिल्लामा उत्पादित ९० प्रतिशत अन्डा निर्यात हुने गरेको छ ।
जिल्लामा ८४ जना कृषकहरुले सन्चालन गरेको कुखुरा फार्ममा ७ लाख बढी लेयर्स कुखुरा रहेको बताउँदै कार्यालय प्रमुख चन्द्रबहादुर रानाले दैनिक साढे दुई लाख अन्डा उत्पादन हुने गरेको जानकारी दिए ।
उनकाअनुसार जिल्लाका घोराही, देउखुरी, तुलसीपुरलगायतमा सन्चालनमा रहेका फार्मबाट मासिक ७० लाख ३८ हजारभन्दा बढी अन्डा उत्पादन हुने गरेको छ ।
जिल्लाको बजारलाई आवश्यक पर्नेभन्दा ९० प्रतिशत बढी अन्डा उत्पादन भइरहेको भन्दै कार्यालय प्रमुख रानाले १० प्रतिशत अन्डा जिल्लामा खपत हुने र बाँकी पश्चिम नेपालका बजारमा निर्यात भइरहेको जानकारी दिए ।
पछिल्ला केही वर्षयता दाङमा अन्डा आयात रोकिएको भन्दै रानाले जिल्लाको उत्पादनले पश्चिम नेपालका महेन्द्रनगर, बुटवल, नेपालगन्ज, गुल्मी, अर्घाखाँचीसँगै राप्तीका सल्यान, रोल्पा, प्यूठान, रुकुमलगायतका जिल्लाका बजार धानेको बताए ।
एक तथ्यांकअनुसार वार्षिक प्रतिव्यक्ति ४८ ओटा अन्डा आवश्यक पर्दछ । त्यो आवश्यकतालाई पूरा गर्दै दाङमा बढी अन्डा उत्पादन भइरहेको जनाइएको छ ।
वि.सं. २०६८ सालको जनगणनाअनुसार दाङको जनसंख्या ५ लाख ५२ हजार ५४३ रहेको छ । तर, दाङमा मासिकरुपमै ७० लाख बढी अन्डा उत्पादन भइरहेको छ ।
यो तथ्यांकका आधारमा दाङ नेपालमै बढी अन्डा उत्पादन हुने जिल्लाहरुमध्ये तेस्रो स्थानमा रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्