Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


प्राधिकरणले भन्यो–‘कुनैपनि स्थानमा लोडसेडिङ छैन’


0
Shares

प्राविधिक समस्याका कारण विद्युत् कटौती हुनुलाई विद्युत्भार कटौती भन्न नमिल्ने स्पस्ट पार्दै प्राधिकरणले विद्युत् आपूर्तिका हिसाबले कहीँ–कतै पनि समस्या नभएको जनाएको छ ।

काठमाडौं उपत्यकालगायत मुलुकका कुनैपनि स्थानमा विद्युत् कटौती गर्नुपर्ने अवस्था नभएको जानकारी दिँदै प्राधिकरणले औद्योगिक करिडोरमा दैनिक तीन घन्टा विद्युत् कटौती हुने गरेको भएपनि घरायसी ग्राहकलाई पूर्णरुपमा विद्युत् आपूर्ति भइरहेको उल्लेख गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने–‘प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर विद्युत् जाँदैमा त्यसलाई विद्युत्भार कटौतीकोरुपमा बुझ्नुहुँदैन ।’

हावाहुरीले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा सामान्य गडबडी हुँदा विद्युत् आपूर्तिमा समस्या हुने गरेको र विगतमा पनि यस्तो अवस्था रहने गरेको उनको भनाइ थियो ।

विगतमा लगातार विद्युत् कटौती हुँदा त्यस्तो समस्या कममात्रै सार्वजनिक हुने गरेको उल्लेख गर्दै प्राधिरकणले त्यस्ता प्राविधिक समस्या समाधान गर्न मुलुकभर नै कर्मचारीको समूह २४ सै घन्टा तयारी अवस्थामा राखिएको जनाएको छ ।

सडक तथा खानेपानी पाइप विस्तारका कारण प्रसारण प्रणालीका भूमिगत तारमा क्षति पुगेको, केही स्थापनमा खम्बा तथा टान्सर्फमर सार्नुपर्नेजस्ता कारणले केही क्षेत्रमा विद्युत् काट्नुपर्ने बाध्यता प्राधिकरणलाई छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले केही दिनअघि विद्युत् आपूर्तिमा अहिले भइरहेको प्राविधिक समस्यालाई छिट्टो र छरितोरुपमा समाधान गरी विद्युत् आपूर्ति नियमित गर्न प्राधिकरणलाई निर्देशन दिइसकेका छन् ।

प्राधिकरणले विद्युत् आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन प्रसारण प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाइरहेकोसमेत जानकारी दिएको छ ।

प्राधिकरणले मर्मत–सम्भारको कामलाईसमेत छोटो समयमा पूरा गर्न प्रतिबद्ध रहेकोसमेत स्पस्ट पारेको छ । रासस