
काठमाडौं, चैत १२ । संसदको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा सरकारले यसअघि जारी गरेका अध्यादेश पेश गर्ने भएको छ ।
संसद बैठकमा राष्ट्रपतिबाट जारी भएका सबै अध्यादेश पारितका लागि पेश गर्ने तयारी सरकारले गरेको हो ।
कार्यसूचीमा रहेका अध्यादेशमा बेपत्ता परिएका व्यक्तिको छानबिन आयोगको पहिलो संशोधन अध्यादेश, सत्यनिरुपण तथा मेलमिलाप आयोगको पहिलो संशोधन अध्यादेश पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए ।
बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश पनि पेश हुनसक्ने छ । राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशका सन्दर्भमा भने टुंगो लागेको छैन ।
जारीलगत्तै ऐनसरह कार्यान्वयनमा आएको उक्त अध्यादेश संसद् चलेको ६० दिनभित्र पारित गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्