
काठमाडौं, मंसिर ८ । प्रथम दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ ।
नेपालका उमेश राई दक्षिण एसियाका ८ ओटै राष्ट्रका खेलाडीलाई पछि पार्दै च्याम्पियन बने ।
उनले ७५ केजी तौल समूहमा पहिलो स्थान हासिल गर्दै अन्तिम चरणको प्रतिस्पर्धाका लागि छनोट भएका थिए ।
एसियाली शारीरिक सुगठन फेडरेसनको आयोजनामा भएको च्याम्पियनसिपमा दक्षिण एसियाका ८ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
च्याम्पियनसिपको ६० केजी तौल समूहमा श्रीलंकाका राजाकुमारन पहिलो भए । श्रीलंकाकै कोलिन उदयकुमारन दोस्रो र नेपालका सुपेन्द्र डंगोल तेस्रो भए ।
६५ केजीमा भारतका एसके आरिफ पहिलो, नेपालका रोजेन बज्राचार्य दोस्रो र श्रीलंकाका जीजीएन विक्रमले तेस्रो स्थान हासिल गरे ।
राष्ट्रियसभागृहमा भएको च्याम्पियनसिपको ७० केजी तौल समूहमा नेपालका रामबहादुर दाहाल पहिलो भए । बंगलादेशका एमडी अलअमिन र मिठ्ठु चोकदरले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भए ।
७५ केजीमा बंगलादेशका एमडी उदिन र अव्वु सैयदमौल्ला दोस्रो र तेस्रो भए ।
८० केजीमा बंगलादेशका सुमनचन्द्र दास पहिलो भए । यो स्पर्धामा नेपालका अनुज मास्के र ललित धिमालले दोस्रो र तेस्रो स्थान हासिल गरे ।
यसैगरी, पुरुष १७१ सेन्टिमिटरमुनिको उचाइ समूहको फिजिक्समा बंगलादेशका एमडी इमरानुल र आरिफ चौधरी पहिलो र दोस्रो हुँदा नेपालका पारस ताम्राकारले तेस्रो स्थान हासिल गरे ।
पुरुष १७१ सेन्टिमिटरभन्दामाथि समूहमा नेपालका रमेश श्रेष्ठ पहिलो भए । नेपालकै सम्यक उदास र विनोद परियार दोस्रो र तेस्रो भए ।
यसैगरी, महिला फिटनेसमा नेपालकी शोभा मानन्धर पहिलो भइन् । सोही स्पर्धामा नेपालकै पूजा गुरुङ दोस्रो, पम्फा राई तेस्रो र पूजा श्रेष्ठ चौथो स्थानमा रहे ।
प्रतियोगिताका विजेतालाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले पुरस्कार प्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्