२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


स्वेच्छिक अवकाशको काम चालू


0
Shares

मन्त्रालयले स्वेच्छिक अवकाश दिने कर्मचारीको नामावलीको अन्तिम रुप तयार गरेको छ ।

‘माथिबाट स्वेच्छिक अवकाशको काम रोक्नू भन्ने आदेश नआएकाले’ अवकाशको काम–कारबाही भइरहेको स्वेच्छिक अवकाश एकाइका प्रमुख धर्मराज रोकायले बताए ।

उनकाअनुसार अहिले सबै जिल्लाबाट अवकाशका लागि निवेदन दिने कर्मचारीको नामावली विवरण तयार गरिएको छ ।

हालसम्म ९ हजार ६५६ जनाले अवकाशका लागि निवेदन दिएका छन् । यो संख्या काठमाडौंमा रहेका कार्यालय, विभागसमेतको हो ।

सबैभन्दा बढी काठमाडौंबाट अवकाशका लागि निवेदन दर्ता भएको उपसचिव रोकायले बताए ।

काठमाडौंबाट एक हजार ३१५, कास्कीबाट ३२८ र मोरङबाट ३१७ जनाले अवकाशका लागि निवेदन दिएका छन् ।

सबैभन्दा कम पूर्वी रुकुम जिल्लाबाट दुईजनालेमात्र अवकाशका लागि निवेदन दिएका छन् ।

पूर्वी रुकुम जिल्लाबाट सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णबहादुर पुन र सहायक जिल्ला वन अधिकृत झंकरबहादुर मगरले निवेदन दिएका छन् ।

यसैगरी, मन्त्रालयबाट ३९४ र संवैधानिका निकायबाट १७२ जनाले अवकाशका लागि निवेदन दिएका छन् ।

एकाइ प्रमुख रोकायले सरकारले आदेश दिएमा दुई महिनाभित्र निवेदन दिएका कर्मचारीमाथि छानबिन गरी अवकाश दिनसकिने बताए ।

सरकारले निजामती र स्वास्थ्य सेवाका संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीलाई स्वेच्छिक अवकाशको व्यवस्था ल्याएको थियो ।

मन्त्रालयले ५० वर्ष उमेर पुगेका र बीसवर्षीय सेवावधि पूरा गरी निवृत्तिभरण पाउने अवस्थामा रहेका कर्मचारीले अवकाश लिन पाउने व्यवस्था गरेको थियो । रासस