५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024


त्रिशूली जलविद्युत्गृहको सर्किट ब्रेकरमा आगोलागी, दुईजना घाइते


0
Shares

काठमाडौं, मंसिर ८ । नेपाल विद्युत् प्राधिकरण त्रिशूली जलविद्युत्गृह दोस्रो युनिटको सर्किट ब्रेकरमा आगोलागी हुँदा दुईजना घाइते भएका छन् ।

घाइते हुनेमा सुपरभाइजर गुञ्जमान तामाङ र इन्जिनियर प्रविण चौधरी रहेको जलविद्युत्गृहका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

घाइतेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ ।

घाइतेमध्ये तामाङको अवस्था गम्भीर रहेको छ ।

शनिबार दिउँसो ३ बजेर ४५ मिनेटको समयमा विद्युत्गृहमा आगोलागी भएको हो ।

आगोलागीका कारण २१ मेगावाट क्षमताको सोही विद्युत्गृह र त्यसैको क्यास्केड १४ मेगावाटको देवीघाट विद्युत्गृहसमेत बन्द भएको छ । जसका कारण ३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारणबाट बाहिरिएको छ ।

कुल २१ मेगावाट क्षमताको उक्त विद्युत् केन्द्रबाट हाल १६ मेगावाटमात्रै विद्युत् उत्पादन भइरहेको थियो ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले आगोलागीका विषयमा छानबिन भइरहेको जानकारी दिए ।

दुईओटै विद्युत्गृह बन्द भएपछि नुवाकोट, रसुवा र धादिङका केही क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ ।

प्रवक्ता अधिकारीले वैकल्पिक व्यवस्था गरेर भएपनि अवरुद्ध रहेका स्थानमा विद्युत् आपूर्तिको व्यवस्था मिलाइने जानकारी दिए ।

उनले भने–‘ग्राहकको विद्युत् आपूर्तिमा भने यसबाट कुनै असार पर्ने छैन ।’

प्राधिकरणले घाइते कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । रासस