
अपडेटः
नयाँदिल्ली, मंसिर ८ । भारतको कर्नाटक राज्यमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुने व्यक्तिको संख्या २८ पुगेको भारतीय प्रहरीले जनाएको छ । मृतकमध्ये केही छात्रछात्रा पनि रहेका छन् ।
दक्षिणी राज्य कर्नाटकको मन्द्या जिल्लामा एउटा सार्वजनिक यात्रीवाहक बस सडकबाट चिप्लिएर नहरको तालमा खस्दा बसमा यात्रारत् २८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
‘मृतकमध्ये केही विद्यालयबाट घर फर्किरहेका बालबालिकासमेत रहेका छन्’–एक प्रहरी अधिकारीले एएफपीलाई बताए ।
प्रहरीले बसमा कतिजना यात्रा गरिरहेका थिए भन्ने विषयमा केही बताएको छैन ।
तर, दुर्घटना अत्यधिक तीव्रगतिका कारण गति नियन्त्रण हुन नसक्दा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा हुन आएको छ ।
स्थानीय सन्चारमाध्यमले भने बसमा ३५ जना यात्रा गरिरहेका बताएका छन् ।
घटनास्थलबाट विभिन्न टेलिभिजनले खिचेको दृष्यचित्रमा स्थानीयबासीले पानीमा डुबेको बसबाट मृत शरीर निकालिरहेका देखिएको छ ।
घटना भएको केही समयपछि भारतीय उद्धारकर्मी तथा तालिमप्राप्त गोताखोर पनि उद्धारमा पुगेका थिए ।
यसैबीच, कर्नाटकका मुख्यमन्त्री एच. डी कमास्वामीले दुर्घटनामा परेका पीडितका परिवारलाई राहत सहयोग गर्ने बताएका छन् ।
भारतमा प्रत्येक वर्ष सडक दुर्घटनामा परी एक लाख ५० हजार व्यक्तिले ज्यान गुमाउने गरेका छन् ।
भारतमा हुने सडक दुर्घटना प्रायः कमजोर सडक संरचना, पूराना सवारी–साधन र चालकको लापरबाहीका कारण हुने गरेको छ ।
सेप्टेम्बरमा कर्नाटकको छिमेकी तेलंगना राज्यमा भएको बस दुर्घटनामा पनि ५० जनाको ज्यान गुमेको थियो भने गत बिहीबार मध्य प्रदेशमा यात्रीवाहक बस विद्यार्थी बोकेको भ्यानसँग ठक्कर खाँदा ६ जना विद्यार्थीको मृत्यु भएको थियो । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्