१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


राष्ट्रिय सभा बैठकः इयूको प्रतिवेदनप्रति आपत्ति, राजपाका सांसद बचाउमा


0
Shares

काठमाडौं, चैत १३ । राष्ट्रिय सभाका सांसदहरुले यूरोपियन युनियन(इयू) निर्वाचन पर्यवेक्षण मिसनको प्रतिवेदनप्रति गम्भीर आपत्ति जनाएका छन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसद बद्री पाण्डेले यूरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको प्रतिवेदन आपत्तिजनक रहेको भन्दै निन्दा गरे ।

उनले विभिन्न देशका राजदूतहरूलाई कूटनीतिक मर्यादा विपरितका गतिविधि गर्न नदिन सचेत गराउन सरकारसँग माग पनि गरे ।

सांसद पाण्डेले यूरोपियन युनियनले नेपालको संविधानमाथि हस्तक्षेप गरेर मुलुकमा जातीय द्धन्द्ध ल्याउन चलखेल गरिरहेको गम्भिर आरोप पनि लगाए ।

सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद रामनारायण विडारीले यूरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको प्रतिवेदनप्रति आपत्ति जनाउँदै नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्ने चेष्टा नगर्न चेतावनी दिए ।

उनले नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान भएको उल्लेख गर्दै त्यसमाथि आँच आउने गतिविधि गरे सह्य नहुने बताए ।

बैठकमा राष्ट्रिय जनता पार्टी, नेपालका सांसद बृशेषचन्द्र लालले भने यूरोपियन युनियनको बचाउ गरेका थिए ।

उनले लोकतन्त्रमाथि प्रश्न उठाउने अधिकार अन्तराष्ट्रिय समुदायको रहेको उल्लेख गर्दै त्यसलाई हस्तक्षेप भन्न नमिल्ने तर्क गरे ।

बैठकमा बोल्दै सत्तारुढ एमालेका सांसद बलराम बाँस्कोटा र नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले उखुको उचित मूल्य निर्धारण गर्न सरकारसँग माग गरेका थिए ।