काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबले पहिलो जित दर्ता गरेको छ ।
आज भएको लिग चरणको तेस्रो खेलमा सरस्वतीले फ्रेन्ड्स क्लबलाई ३–० ले पराजित गरेको हो । सरस्वतीको जितमा तीनै गोल विदेशी खेलाडीले गरे ।
हलचोकस्थित सशस्त्र प्रहरीको मैदानमा भएको खेलको पहिलो हाफको १३ औ मिनेटमा अफ्रिकन खेलाडी भिक्टरले गोल गर्दै सरस्वतीलाई अग्रता दिलाए ।
यस्तै ७३ औ मिनेटमा ईब्राहिमले गोल गर्दै सरस्वतीलाई २–० को अग्रता दिलाए ।
खेल सकिन ७ मिनेट बाँकी हुंदा साचिईले गरेको गोलले सरस्वतीको जित सुनिश्चित पारेको थियो ।
जितपछि सरस्वतीले ३ अंक जोडेको छ । सरस्वतीले पहिलो खेलमा संकटा र दोस्रोमा हिमालयन शेर्पा क्लबसंग पराजय ब्यहोरेको थियो ।
यता फ्रेन्ड्ले भने लिगमा लगातार तेस्रो हार ब्यहोरेको छ ।
फ्रेन्ड्स पहिलो खेलमा थ्री स्टार र दोस्रो खेलमा एपीएफसंग पराजित भएको थियो । यता आज दिउँसो २ः३० बजे हुने खेलमा जावलाखेल र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ ।
लिग अंक तालिकाको पुछारमा अंकविहीन रहेको जावलाखेल आजको खेलमा अंक जोड्ने लक्ष्यमा रहेको छ ।
यता, हिमालयन शेर्पा भने दोस्रो जितको खोजीमा हुनेछ । हिमालयन शेर्पा दोस्रो जितका लागि खराब लयबाट गुज्रिरहेको जावलाखेललाई पराजित गर्ने योजनामा हुनेछ ।








प्रतिक्रिया दिनुहोस्