२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


प्रहरीले नियन्त्रणमा लिएका मोटरसाइकल कवाडीमा परिणत, करोडौं राजश्व गुम्यो (भिडियो)


0
Shares

विभिन्न समयमा नियन्त्रणमा लिइएका मोटरसाइकलले प्रहरी कार्यालय परिसरका खाली ठाउँ भरिएको हो ।

नियन्त्रणमा लिइएका मोटरसाइकलको लिलामी प्रक्रिया अघि नबढ्दा लाखौं रुपैयाँ मूल्य बराबरका सामान कबाडीमा परिणत भएका छन् ।

झापाको बिर्तामोडस्थित ईलाका प्रहरी कार्यालयमा दैनिक नियन्त्रणमा लिइएका मोटरसाईकल अब राख्ने ठाउँ छैन ।

केही नयाँ मोटरसाईकललाई लिलाम प्रकृयामा पुर्‍याउँदा राजश्व राम्रो उठ्ने आशामा छानो भएको टेन्ट मुनि पनि राखिएको छ ।

बिगत ७ वर्ष यताका मोटरसाईकल कबाडीमा परिणत हुँदा त्यसको चाङ पनि उतिकै ठुलो छ ।

भन्सार कार्यालयको झन्झटिलो प्रक्रियाका कारण समयमा लिलाम नहुँदा राज्यले लक्षित राजश्व पनि गुमाउँदै गएको ईलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्ण कोइराला बताउँछन् ।

ईलाका प्रहरी कार्यालय बिर्तामोडमानै अहिले ७६ वटा नियन्त्रणमा लिइएका मोटरसाईकल राखिएका छन् ।

यो त गन्न मिल्ने मात्रै हो, अरु सात वर्ष देखि थुपारेर कबाडी बनेका मोटरसाइकललाई थप्ने हो भने संख्या बढेर सय नजिक पुग्छ ।

दमक, भद्रपुर, काँकरभिट्टा क्षेत्रमा पनि उत्तिकै संख्यामा बरामद गरिएका मोटरसाइकल लिलाम नभई राखिएको छ । चन्द्रगढी स्थित जिल्ला प्रहरी कार्यालयमा पाँच वटा मोटरसाईकल राखिएको छ ।

झापाका अन्य ईलाका प्रहरी कार्यालयमा पनि कम्तिमा ५ देखि १० वटा सम्म मोटरसाईकल लिलाम नभई थन्किएको छ ।

नियन्त्रणमा लिईएका महँगा मोटरसाईकललाई समयमा लिलाम गरे एउटा बराबर कम्तिमा पनि दुईलाख राजस्व उठ्ने रसबै मेटरसाईकलको लिलाम सोहि दरमा गर्न सके झापाबाट मात्रै करोडौ राजश्व उठ्ने अनुमान गर्न सकिन्छ ।

तर प्रहरीले आफ्नो काम छिटो गरे पनि भन्सारले काम ढिला गरेको डिएसपि कृष्ण कोईरालाको भनाइ छ ।

यातायातले भने भन्सार लैजाने प्रकृया छिटो मिलाई दिने गरेको यातायात कार्यालय मेचिका प्रमुख बसन्त प्रसाद पन्थी बताउँछन् ।

दाखिलासँगै लिलामी प्रक्रियाको जिम्मा अब स्थानीय तह वा जिल्ला प्रशासन र जिल्ला प्रहरीलाई दिने हो भने राजश्वमा बढोत्तरी हुने र काम पनि चाँडो हुने प्रहरी अधिकारीहरु बताउँछन् ।

भिडियो