२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


बालिका ‘अपहरण’ गरेर भाग्दैगर्दा भीरबाट खसेर युवकको मृत्यु


0
Shares

बालिकालाई साथमा लिएर भागेका ती युवकको कुस्मा नगरपालिका वडा नम्बर–४, चाक्लेडिलको भीरबाट खसेर मृत्यु भएको हो ।

मृतकको सनाखत हुन सकेको छैन ।

कुश्मा–४, चाक्लेडिलनजिकै बस्दै आएकी निशा परियारकी साढे दुई वर्षीया छोरी सुहानी परियारलाई एक अपरिचित व्यक्तिले लैजाँदै गर्दा स्थानीयवासीले देखेर हारगुहार गरेपछि भाग्नेक्रममा ती युवक भीरबाट खसेका बताइएको छ ।

बालिका रोएको सुनेपछि भीरतर्फ हेर्दा ती युवकले बालिकाको मुख अठ्याइरहेको देखेको प्रत्यक्षदर्शीले बताए ।

स्थानीयले देखेपछि बालिका छाडेर भाग्नेक्रममा भीरबाट खसेका ती युवा प्रहरीले खोजी गर्नेक्रममा मृतावस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।

ती युवकले घटनाको करिब आधा घन्टअगाडि सोही घटनास्थलनजिकैको एक होटलबाट मदिरा चोरी गरी भागेको अवस्थामा व्यवसायीले थाहा पाएपछि उनलाई नियन्त्रणमा लिएर छाडेका थिए ।

घटनाबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दीपक थापाले बताए ।