
खासगरी नेवार समुदायको प्रजापति समुदाय पुर्खौली पेसाकारुपमा माटाका भाँडाकुडा बनाउने काम गर्छन् । तर, अहिले यो पेसा संकटमा पर्दै गएको छ ।
७३ वर्षीय ललितचन्द्र प्रजापति माटाका भाँडाकुडा बनाउँछन् । पुस्तौंदेखि गर्दै आएको पेसा अँगाल्दै बिहानदेखि बेलुकीसम्म ५० देखि १०० ओटा माटाका भाँडाकुडा बनाउनु उनको दिनचर्या हो ।
१२ जनाको संयुक्त परिवारसँग बस्दै आएका प्रजापति आफूले १०/११ वर्षको उमेरदेखि नै माटाका भाँडा बनाउँदै पुर्खौली कामलाई निरन्तरता दिएको बताउँछन् ।
वृद्धावस्था भएपनि ६० वर्षभन्दा बढी समयदेखि गरिरहेको काम आफ्ना लागि प्यारो भएको उनी बताउँछन् ।
अहिले भने माटो निकाल्ने जमिनको अन्धाधुन्ध प्लानिङ गरिँदा माटोकै अभाव हुन थालेको उनको भनाइ छ ।
३८ वर्षीया विष्णुलक्ष्मी प्रजापति पनि माटाका भाँडाकुडा बनाउने र बेच्ने गर्छिन् । श्रीमान्सँगै काम गरेर आफूले परिवार चलाउँदै आएको उनको भनाइ छ ।
पैसा तिरेर माटो किन्नुपर्ने र किनेर पनि भनेको समयमा माटो नपाउँदा उनीहरु दिक्क छन् ।
५० वर्षीय बुद्धिराम प्रजापति पनि प्लटिङका कारण माटोको खानी नास हुन थालेपछि कुमालहरुलाई अफ्ठ्यारो परेको बताउँछन् ।
कुमालहरुको बस्तीमा पर्ने ४ नम्बर वडाका वडाध्यक्ष श्रीकुमार चवाल पनि प्लास्टिक सामानको बिगबिगीले माटाका भाँडा लोप हुन लागेको बताउँछन् ।
भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले कुमालहरुको रैथाने पेसा संरक्षण गर्न लाग्नुपर्ने बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्